नमुना महिला उद्यमी बन्दै अस्लामी

Post Date : April 21, 2016 | 2:18 pm

रामपुर (पाल्पा), ९ वैशाख । मस्याम गाविस– ७ डुम्रेकी सीता अस्लामी अहिले जिल्लाकै नमुना उद्यमी महिलाको रुपमा परिचित हुनुहुन्छ । महिलाले कुनै व्यवसाय गर्न सक्दैनन्, सधँै घरकै काममा सीमित हुनुपर्छ भन्ने पुरानो मान्यताको प्रतिकार गर्दै गाईफार्म खोलेर उहाँ नमुना महिला उद्यमी बन्नुभएको छ ।

उहाँले रु १८ लाखको लागतमा गाईफार्म सञ्चालन गर्नुभएको छ । विसं २०६७ मा सहकारीबाट रु एक लाख ऋण झिकेर एउटा गाईबाट सुरु गर्नुभएको फार्ममा अहिले १८ वटा जर्सी जातका माउ गाई रहेका छन् । “मासिक रु ७० हजारसम्म आम्दानी हुन्छ” उहाँले भन्नुभयो ।

यथेष्ट आम्दानी हुन थालेपछि उहाँले विदेशिएका श्रीमान्लाई घर बोलाई गाईपालनमा संलग्न गराउनुभएको छ । दैनिक ३०० देखि ४०० लिटरसम्म दूध उत्पादन गरी बिक्री गर्ने अस्लामी दम्पतिको लक्ष्य रहेको छ ।” उहाँहरु यस व्यवसायबाट दुई छोराछोरी, घरव्यवहार चलाउन तथा रकम बचत गर्न सफल हुनुभएको छ ।

“परिवारमा श्रीमान्ले मात्र कमाउने भन्ने छैन, परिवारको सुखका निम्ती श्रीमान् श्रीमती दुबैको जिम्मेवारी उत्तिकै हुनुपर्छ” अस्लामीले भन्नुभयो । महिला उद्यमी अस्लामीको व्यवसायबाट समाजका अन्य महिलाले समेत सिको गर्नु जरुरी छ ।

व्यवसाय सञ्चालनका लागि अस्लामीलाई पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्र्तगत रु २० हजार रकम अनुदानमा उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो । अहिले उहाँको व्यवसाय देखेर यहाँका अन्य महिलाले पनि गाईपालनमा जोड दिँदै आउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *