नवयुग र सन्दीप ‘पिपुल च्वाइस अवार्ड’को मनोनयनमा

Post Date : July 2, 2016 | 12:58 am

काठमाडौँ, १७ असार । फुटबल खेलाडी नवयुग श्रेष्ठ र युवा क्रिकेटर सन्दीप लामिछाने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा परेका छन् ।

‘पिपुल च्वाइस अवार्ड’को मनोनयन आज सार्वजनिक गरिएको हो । यसअघि यो अवार्डको नाम ‘पपुलर अवार्ड’ थियो । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड आगामी साउन ६ गते वितरण हुँदैछ । पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग, क्रिकेटर सन्दीपका अलावा भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेकी छन् ।

गत वर्ष नेपालले बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद ९साग० फुटबलमा स्वर्ण पदक जित्दा नवयुग नेपाली टोलीका प्रमुख खेलाडी थिए । उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । त्यस्तै क्रिकेटर सन्दीपले उन्नाइस वर्षमुनि ९यु–१९०को विश्वकपमा राम्रो प्रदर्शन गरेका थिए । केही महिनाअघि घरमै भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध सिनियर टोलीमा ‘डेब्यु’ गरेका उनले राम्रो प्रदर्शन गरेका थिए ।

विसं २०७२ मा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एसएमएस भोटिङका आधारमा साउन ६ गते नै विजेता छनोट हुनेछन् ।

फुटबलर विराज सर्वोत्कृष्ट

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जन ‘दशरथ चन्द मेधावी खेलाडी पुरस्कार–२०७२’अन्तर्गतको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा आज आयोजित कार्यक्रममा विराजलाई रु १५ हजार एकसहित सम्मानपत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबल तथा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप फुटबलमा नेपालले स्वर्ण पदक जित्दा विराज टोलीका कप्तान हुनुहुन्थ्यो ।

ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएबमोजिम विराज मध्यमाञ्चलबाट छनोट हुनुभएको हो । त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपुल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्तीमगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारैजना १२ औँ सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारैले जनही रु १० हजार एकका दरले नगद र सम्मानपत्र पाए ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, नेपाली काँग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले सम्मान गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *