नागरिक लगानी कोषप्रति जनविश्वास बढ्यो

Post Date : May 27, 2016 | 5:39 pm

काठमाडौँ, १४ जेठ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा नागरिकको विश्वास बढ्दै गएको पाइएको छ ।

सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणअनुसार समग्र नागरिकको विश्वास बढेको पाइएको हो । निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी संस्थान तथा केही निजी कम्पनीका कर्मचारीको सञ्चय कोषले व्यवस्थापन गर्दै आएको छ ।

सञ्चयकर्ताहरुबाट कोष सङ्कलन गर्ने, ऋण प्रदान गर्ने कार्यका अतिरिक्त सञ्चय कोषले घर जग्गा व्यवसाय, उद्योग तथा जलविद्युत् परियोजनामा समेत लगानी गर्दै आएको छ । कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् कम्पनी, माथिल्लो त्रिशूली थ्री बिमा लगानी गरेको छ । यस्तै कोषले नेपाल वायु सेवा निगमले खरिद गरेको जहाजमा समेत लगानी गरेको छ ।

कोषको २०७२ फागुनसम्म सम्पत्ति तथा दायित्व रु दुई अर्ब ११ अर्ब ८३ करोड रहेको छ । सो दायित्व २०७२ असारमा रु एक खर्ब ९४ अर्ब ४४ करोड रहेको थियो । कोषमा चालु आवको आठ महिनासम्म रु दुई खर्ब पाँच अर्ब ५३ करोड रकम सञ्चित रहेको छ । कोष २०१९ भदौ ३१ गते स्थापना भएको हो ।

यस्तै नागरिक लगानी कोषले २०७२ चैतसम्म रु ५२ अर्ब ७१ करोड लगानी गरेको छ । आव २०७१/७२ मा कोषले रु ५९ अर्ब नौ करोड लगानी गरेको थियो । कोषले आव २०७२/७३ को चैत मसान्तसम्म रु सात अर्ब ४५ करोडको साधारण तथा हकप्रद सेयर निष्कासन गरेको छ । सेयर निष्कासन शुल्क तथा प्रत्याभूति कमिसन शुल्कतर्फ भने आठ महिनाको अवधिमा रु एक करोड ४६ लाख आर्जन गरेको छ ।

पछिल्ला दिनमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि कोषलाई नै बिक्री प्रबन्धक बनाएर सेयरको कारोबार गर्ने गरेका छन् । कोषको स्रोततर्फ २०७२ असार मसान्तमा निक्षेप रु ६७ अर्ब २३ करोड रहेकामा २०७२ चैत मसान्तसम्म रु ७४ अर्ब ५८ करोड पुगेको छ । कोषले कुल लगानीको ६४.२ प्रतिशत ब्याज प्राप्त हुने साधनमा लगानी गरेको छ । सरकारी ऋणपत्रमा ५.८ प्रतिशत, सेयर धितोमा ६.७ प्रतिशत लगानी गरेको छ ।

हुलाक बचत बैंकमा बचत गर्ने बढे

हुलाक सेवा विभागले सञ्चालन गरेको हुलाक बचत बैंकमा बचत गर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ ।

सर्वेक्षणअनुसार सो बैंकमा २०७२ फागुन मसान्तसम्म कुल खाता सङ्ख्या ६६ हजार ३१० पुगेको छ । गत साल असार मसान्तसम्म सो सङ्ख्या ६५ हजार ९३७ रहेको थियो । निक्षेप सङ्कलन गर्न स्वीकृत हुलाक कार्यालयको सङ्ख्या ११७ रहेकामा हाल ६८ वटा कार्यालयले बैंकिङ कारोबार सञ्चालन गरिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *