नारायणगढ–मुग्लिन सडक छ घन्टा रोकिने

Post Date : March 21, 2017 | 2:29 pm

चितवन, ८ चैत । वर्षात्को समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ ।

हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सडक आवागमन छ घन्टा रोकेर काम थालेपछि चार घन्टा काम गर्न पाइने छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताउनुभयो । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् ।

प्रजिअ नारायणप्रसाद भट्टले वर्षात्का समयमा थप समस्या नआओस् भन्नाका लागि जेठ १५ गतेभित्र मुख्य संरचनाका काम सम्पन्न गर्न दैनिक छ घन्टा आवागमन रोकेर काम गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार वर्षात्अघि काम नभ्याएमा निकै ठूलो समस्या आउने बताउँदै उहाँले ठेकेदार कम्पनीले उपकरण र जनशक्ति थप गरी कामलाई तीव्रता दिने छ ।

पहिलो सम्झौतानुसार आउँदो वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ ।

सो सडकको आँपटारीदेखि दासढुङ्गासम्म भारतीय ‘बिएलए’ तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय ‘उड हिल’ तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको ‘सुप्रिम’ र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । उनीहरुले पहिलो खण्डमा ३५ प्रतिशत, दोस्रो खण्डमा ५० प्रतिशत र तेस्रो खण्डमा ३७ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

पहिलो खण्डमा भित्तो काट्ने काम छैन भने दोस्रो र तेस्रो खण्डमा भित्तो काट्नुपर्ने जटिल काम छ । इ खनालका अनुसार दोस्रो खण्डको घुमाउनेमा एक सय मि र १६ किलोमा चार सय मि भित्तो काट्नुपर्ने हुन्छ भने तेस्रो खण्डको जलवीरेमा दुई सय मि र चेपाङ डाँडोमा पाँच सय मि भित्तो काट्नुपर्ने हुन्छ ।

पचपन्न मिसम्म अग्लो चट्टानी पहाड काट्नुपर्ने हुन्छ । सो क्षेत्रमा सडकको चौडाइ पाँच दशमलव पाँच मि मात्रै छ । भित्तो काटेर नौ मि फराकिलो बनाउनुपर्ने हुन्छ ।

कामलाई तीव्रता दिन उपकरण र जनशक्ति थप गरिएको छ । एक्साभेटर मात्रै २४ वटा प्रयोग भएको खनालले जानकारी दिनुभयो । पहिलो खण्डमा आउँदो हप्तादेखि र दोस्रो खण्डमा चैतको अन्तिम सातादेखि कालोपत्रे सुरु हुने छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच४टु खण्डमा नारायणगढ– मुग्लिन सडकखण्ड पर्छ ।

नेपालको कोदारी हुँदै चीन तथा काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन,नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने सो सडक एसियाली राजमार्गको एक खण्ड हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *