निक साइमन्स पुरस्कार जनस्वास्थ्य निरीक्षक श्रेष्ठलाई

Post Date : March 22, 2017 | 6:12 pm

काठमाडौँ, ९ चैत । ग्रामीण स्वास्थ्यको समग्र गुणस्तर तथा पूर्वाधार विकासमा उत्कृष्ट योगदान दिएबापत सन् २०१६ को निक साइमन्स पुरस्कार प्युठान जिल्ला, बरौला स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक बालगोपाल श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

निक साइमन इन्स्टिच्युटद्वारा स्थापित सो पुरस्कार हरेक वर्ष देशभरका स्वास्थ्यकर्मीमध्ये एक जनालाई प्रदान गरिन्छ । यस पटक सो पुरस्कारका लागि ६३ जिल्लाका एक सय १८ स्वास्थ्यकर्मीको आवेदन परेको थियो । इन्स्टिच्युटका संस्थापक डा जिम साइमन्स र उहाँकी पत्नी मेरिलिनले आफ्ना पुत्र निक साइमन्सको स्मरणमा स्थापित सो पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा श्रीकृष्ण भट्ट, अधिकृत सविन चौधरी र इन्स्टिच्युटका प्रशासकीय अधिकृत नवराज श्रेष्ठको छनोट समितिले सो छनोट गरेको हो । केन्द्र र इन्स्टिच्युटद्वारा संयुक्त रुपमा आयोजित आठौँ स्वास्थ्यकर्मी सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज यहाँ श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र चिकित्सक शिक्षा तथा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्न आयोजित सो सम्मेलनमा ६० जिल्लाका ९८ स्वास्थ्यकर्मी, पाँच विकास क्षेत्रका क्षेत्रीय निर्देशक एवम् मन्त्रालय र विभागका उच्च अधिकृतको सहभागिता छ ।

मन्त्री थापाले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको पूर्वाधार तथा गुणस्तर विकासमा मन्त्रालयले प्राथमिकता दिएको जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले संविधानप्रदत्त स्वास्थ्य अधिकारलाई पूरा गर्न मन्त्रालयले ध्यान दिएको र सङ्घीयताअनुरुप स्वास्थ्य सेवाका लागि संरचना तयार भएको जानकारी दिनुभयो ।

इन्स्टिच्युटका संस्थापक डा साइमन्स र उहाँकी पत्नी मेरिलिनले आगामी दिनमा नेपाललाई दिँदै आएको सहयोगमा थप गरिने जानकारी दिनुभयो । इन्स्टिच्युटले विशेष गरी ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य संस्थाको पूर्वाधार विकास, जनशक्ति विकास तथा उपकरणको व्यवस्थालाई आर्थिक एवम् प्राविधिक सहयोग दिँदै आएको छ ।

कार्यक्रममा इन्स्टिच्युटका नेपाल प्रमुख डा भेषबहादुर थापा, कार्यकारी निर्देश डा अनिल श्रेष्ठ र प्रशासन प्रमुख नवराज श्रेष्ठले इन्स्टिच्युटका बारेमा जानकारी दिनुभएको थियो । पुरस्कृत व्यक्तित्व जनस्वास्थ्य निरीक्षक श्रेष्ठले आफूले ग्रामीण क्षेत्रमा आफूले जानेका ज्ञान र सीप जनतालाई प्रदान गर्नाका साथै आफ्नो स्वास्थ्य चौकीको पूर्वाधार विकास तथा गुणस्तरका सेवामा काम गरेको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *