निगमको यात्रु संख्या घट्यो

Post Date : April 27, 2018 | 5:23 pm

काठमाडौँ, १४ वैशाख । अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ ।

लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४/७५ मा कमी आएको हो ।

निगमको तथ्यांकअनुसार आव २०७४/७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो संख्या २७ हजारले कमी हो । आव २०७२/७३ को आठ महिनामा एक लाख २४ हजार यात्रु थिए ।

आव २०७३/७४ मा चार लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२/७३ मा जम्मा तीन लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए ।

यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन् । आव २०७४/७५ को आठ महिनामा २९ हजार यात्रु पगेका छन् भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए । आव २०७२/७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झण्डै दुई महिना लागेका कारण यात्रुको संख्यामा कमी आएको निगमको भनाइ छ ।

अन्तरराष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ । आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा शुरु गर्ने निगमको तयारी छ ।

निगमले अन्तर्राष्ट्रियतर्फ एक बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगमका दुईवटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ ।

अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौवटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *