नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीद्वारा पदभार ग्रहण

Post Date : September 25, 2016 | 6:37 pm

काठमाडौं, ९ असोज । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७३ असोज ६ गतेको निर्णयले उहाँलाई तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उहाँ नेपाल टेलिकममा प्रमुख प्राविधिक अधकृत (CTO) पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ नेपाल टेलिकममा बरिष्ठतम नायव प्रबन्ध निर्देशक मध्ये हुनुहुन्थ्यो । नेपाल टेलिकमको इतिहासमा नै उहाँ पहिलो महिला प्रबन्ध निर्देशक हुनुहुन्छ ।

उहाँले आज (२०७३ असोज ९ गते) कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आउने दिनहरुमा परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाल टेलिकमको प्रबन्ध निर्देशक जस्तो उच्च पदमा आफूलाई नियुक्त गरेकोमा नेपाल सरकार र सम्बन्धित सवैप्रति आभार प्रकट गर्नु भयो ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका बरिष्ठतम नायव प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले उहाँलाई स्वागत गर्दै नव नियुक्त प्रबन्ध निर्देशक राजभण्डारीको नेतृत्वमा कम्पनीलाई अघि बढाउन निरन्तर साथ सहयोग रहने बताउनु भयो । सो अवसरमा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत, नायब प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, कम्पनीमा आवद्ध कर्मचारी युनियनका पदाधिकारीहरुलगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक (B E) र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा MBA (Management of Technology) गर्नुभएको छ ।

नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गर्नुभएको थियो । कम्पनीका विभिन्न निर्देशनालय तथा विभागमा प्रमुख भई कार्य गर्नु भएका राजभण्डारी ०६३ कात्तिक १९ मा प्रबन्धक पदमा बढुवा हुनु भएको थियो । त्यसैगरी २०७१ असारमा उहाँ नायब प्रबन्ध निर्देशकको पदमा पदोन्नति हुनुभएको थियो । उहाँ २०७२ माघ २९ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समितिमा मिति २०७३ असार ३ गते देखि बरिष्ठ प्राविधिक विशेषज्ञका रुपमा सञ्चालक सदस्य हुनुहुन्थ्यो । कम्पनीको सञ्चालक समितिमा उहाँ पहिलो महिला सञ्चालक सदस्य हुनुहुन्छ । यस्तैगरी उहाँ मिति २०७१ फागुन देखि त्रिशुली थ्रि बि जलविद्युत्त आयोजनाको सञ्चालक सदस्य हुनुको साथै अपर तामाकोशी जलविद्युत्त आयोजनाको बैकल्पिक सञ्चालक सदस्य पनि हुनुहुन्थ्यो ।

उहाँसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । उहाँ योजना, परियोजना सञ्चालन, मर्मत सम्भार, स्पेसिफिकेसन तयारी, अनुगमन तथा मूल्यांकन जस्ता क्षेत्रमा विशेष दख्खल राख्नु हुन्छ । नेपाल इञ्जिनियर्स एसोसिएसनले उहाँलाई २०७३ श्रावणमा ‘आउटस्ट्यान्डिङ वुमन इञ्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *