नेपाल टेलिकमको तेह्रौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

Post Date : February 5, 2017 | 5:31 pm

नेपाल टेलिकमले आफ्नो स्थापनाको तेह्रौँ बार्षिकोत्सव आज (२०७३ माघ २२ गते) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा 4G सेवा प्रारम्भ गरेको छ । त्यसैगरी CRBT सेवा पुनः सञ्चालन गरेको छ । मोबाइल सेवामा Call Waiting र Call Forwarding जस्ता सुविधा उपलब्ध गराइएको छ । जीएसएम नेटवर्कका सेवाग्राहीहरुलाई रु. २०।– मा ५ दिन Validity भएको 100 MB फेसबुक प्याकेज उपलब्ध गराइएको छ । यी वाहेक अन्य विभिन्न सेवाहरुमा विभिन्न प्रकारको अफर र छुटको व्यवस्था गरिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सूचना तथा सञ्चार मन्त्री माननीय सुरेन्द्र कुमार कार्कीले नेपाल टेलिकमले तथ्यांक भन्दा पनि परिणाममा जोड दिनु पर्ने बताउदै प्रतिस्पर्धात्मक रुपमा नेपाली जनताको हितमा समर्पित हुने गरी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले देशका दुर्गम स्थान र सहरी क्षेत्रका अस्पताल र स्कुल/कलेजहरुमा नेटवर्क विस्तार गरी सबैलाई प्रविधिको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्न र विश्वको अवस्थासँग परिचित हुने कार्यमा सहयोग पुरयाउन कम्पनीलाई सुझाव दिनुभयो ।

ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले राष्ट्र र जनताप्रति उत्तरदायी रही आफूलाई एक्लो प्रतिस्पर्धि सावित गर्न सकोस् भन्ने शुभकामना प्रदान गर्दैै आगामी दिनमा समेत कम्पनीले आर्थिक अनुशासन, सुशासन र पारदर्शितामा कमी आउन नदिने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले नेपालमा दूरसञ्चार सेवा भित्र्याउन महत्वपूर्ण योगदान गरेकाले पनि कम्पनीप्रति सबैको अपनत्व भएको बताउनु भयो । प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गरी गुणस्तरीय सेवा प्रदान गर्नु र यसको बजारीकरण समेत गर्नु आवश्यक भएकाले त्यसैअनुसार आगामी दिनमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धाको बजारमा सधैँ सतर्क रहनु पर्ने आवश्यकता औल्याउदै नवीनतम प्रविधिको माध्यमबाट सधै सेवाग्राहीलाई सन्तुष्टी प्रदान गर्न सुझाव दिनुभयो । उहाँले लामो समयदेखि सेवा प्रदान गरिरहेको र विश्वसनिय समेत भएकाले नेपाल टेलिकमलाई नै प्राधिकरणले समेत विश्वास गरिरहेको बताउनु भयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हाल १ करोड ६२ लाख ग्राहक आधार भएको कम्पनीले प्रत्येक वर्ष सरकारलाई समेत सबैभन्दा बढी कर तिरेर सम्मानित भएको जानकारी गराउनु भयो । कम्पनीलाई अझै प्रतिस्पर्धि बनाउनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको र यसका लागि परामर्श कार्य एक वर्षमा पुरा हुने अपेक्षा गर्नुभयो । उहाँले कम्पनीले वार्षिकोत्सवका अवसरमा विभिन्न छुटको सुविधा उपलब्ध गराएको जानकारी पनि गराउनु भयो ।

कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ । माननीय मन्त्री सुरेन्द्रकुमार कार्कीले सो बराबरको चेक आज काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई हस्तान्तरण गर्नुभयो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीमा २० वर्ष भन्दा बढी सेवा गर्ने काठमाडौ क्षेत्रका कर्मचारीहरुलाई संसदको विकास समितिका सभापति माननीय रविन्द्र अधिकारीले दीर्घसेवा पदकले सम्मानित गर्नुभयो । काठमाडौं क्षेत्रका १ सय ३० कर्मचारीहरु सहित अन्य क्षेत्र समेत गरी २ सय ६३ कर्मचारीलाई आज सो पदकले सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट कार्य गरे वापत ५० हजार रुपैयाँ राशीको पुरस्कार सहित १० जना कर्मचारीलाई माननीय मन्त्री कार्कीले सम्मानित गर्नुभयो । प्रशंसनीय कार्य गरे वापत १७ जना कर्मचारीलाई संसदको सार्वजनिक लेखा समितिका सभापति माननीय डोरप्रसाद उपाध्यायले प्रमाणपत्र सहित सम्मानित गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा नेपाल टेलिकम सञ्चालक समितिका सदस्यहरु किशोरजंग कार्की, रामकृष्ण सुवेदी र विनयकुमार चालिसेको समेत उपस्थिति थियो । त्यसैगरी पूर्व प्रबन्ध निर्देशक, नायब प्रबन्ध निर्देशक, निर्देशक लगायत बरिष्ठ अधिकृत र अन्य कर्मचारीहरुका साथै सेवाग्राहीहरुको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *