नेपाल टेलिकमद्वारा पत्रकारहरू सम्मानित र ३१ गतेसम्म निःशुल्क एसएमएस सेवा दिने

Post Date : August 13, 2017 | 8:38 pm

काठमाडौँ, २९ साउन । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पुरयाउनका लागि २०७४ साउन २९ गतेदेखि साउन ३१ गते मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने टेलिकमद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले आज आयोजित पत्रकार सम्मान कार्यक्रममा सो कुराको घोषणा गर्नुभएको हो । सो अवसरमा मन्त्री बस्नेतले नागरिक दैनिकका सञ्चारकर्मीद्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रुपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई सम्मान गर्नुभएको थियो । कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशनरप्रसारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री बस्नेतले नेपाल टेलिकमले दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउनु पर्ने र प्रतिस्पर्धामा पनि उत्रनु पर्ने बाध्यता भएको बताउदै छिटोछरितो रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले कम्पनीले तय गरेका कार्यक्रमहरु प्रभावकारी रुपमा निश्चित समय भित्र कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले प्रत्येक विपत्को समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गर्दै मुलुकका सम्पूर्ण स्थानमा सेवा पुरयाएर पनि सधैँ पहिलो नम्बरमा रहनु पर्ने कम्पनीको बाध्यता भएको बताउनु भयो । उहाँले नेपाल टेलिकम, सरकार र सञ्चारकर्मी बीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने बताउनु भयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएस मार्फत निःशुल्क रुपमा आवश्यक जानकारी गराउने कार्य समेत निरन्तर चलिरहेको जानकारी दिदै कम्पनीले गत आर्थिक वर्षमा प्राप्त गरेको उपलब्धिका वारेमा जानकारी गराउनु भयो । उहाँले कम्पनीले आ.व. ०७४/७५ मा विभिन्न कार्यक्रमहरु मार्फत १७ प्रतिशत ग्राहक थप्ने र सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना तय गरेको जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्ष ०७४/७५ भित्र एक करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको र ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्रदान गर्नका लागि फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्टले नकारात्मक भन्दा पनि स्वच्छ आलोचनाका समाचार लेखिउन् भन्ने महासंघको चाहना रहेको बताउदै सम्मानले सञ्चारकर्मी र टेलिकम बीच सहकार्यका लागि बाटो फराकिलो बनाउने विचार ब्यक्त गर्नुभयो ।

सो अवसरमा कम्पनीका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपालमा दूरसञ्चार सेवाको सय वर्षे यात्राका केही झलकहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कम्पनीका प्रबन्धक तथा सम्मान छनोट समितिका संयोजक प्रतिभा बैद्यले सम्मानका लागि अपनाइएको छनोट प्रक्रिया वारे जानकारी दिदै प्राप्त समाचार सामग्रीहरुको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरिएको जानकारी दिनु भएको थियो ।

सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामग्रीमध्ये उत्कृष्ट सामग्री छनोट गरी सञ्चारकर्मीलाई सम्मान गरेको हो । सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकमका बरिष्ठ अधिकृतहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *