नेपाल टेलिकमद्वारा विद्यालय र अस्पताललाई सहयोग

Post Date : April 24, 2018 | 2:35 pm

काठमाडौँ, ११ वैशाख । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरेको जानकारी टेलिकमद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक/एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको जानकारी गरेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको छ । यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गर्नुभएको छ । ती कम्बल अस्पतालका विरामीहरुका लागि उपयोग गरिने समेत जनाएको छ ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरे अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो अस्पताललाई कम्बल वितरण गरिएको बताउँदै आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताउनु भयो । उक्त अवसरमा अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गर्नुभयो ।

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको छ भने लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटि सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको समेत उक्त प्रेस विज्ञप्तीमा जनाएको छ ।

यसैबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गर्नुभयो । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।

आइसिटि सेन्टर शुभारम्भ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गर्नु भयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमार वल्ल तथा विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउन टेलिकमको सहयोगको लागि आभार व्यक्त गर्नु भयो ।

यी दुवै कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय, प्रबन्धक प्रतिभा बैद्य तथा प्रबन्धक रिना डंगोलका साथै अन्य सम्बन्धित कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सेवामूलक कार्यहरु गरेको हो । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन कम्पनी प्रतिवद्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *