नेपाल बनाउने नीति र कार्यक्रम आउछ, सरकारलाई सहयोग गर्नुस– प्रम

Post Date : April 12, 2016 | 5:49 pm

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा नै केन्द्रित रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ६५औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजनीतिक अधिकार प्राप्तिको चरण सम्पन्न भइसकेकाले आर्थिक समृद्धि र विकासमा सरकार प्रतिवद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “भूकम्प र अघोषित नाकाबन्दीका कारण मुलुकले समस्या भोग्नुपरे पनि ती सबै समस्या समाधान भइसकेकाले उद्योगी व्यवसायी तथा आम जनताको हितका लागि के के गर्नुपर्छ त्यसका लागि सरकारले योजनावद्ध ढङ्गले काम गर्छ । सरकारलाई बलियो बनाउने र सहयोग गर्ने दायित्व मात्रै उद्योगी व्यवसायीको हो ।”

सरकारले ऊर्जा, भौतिक पूर्वाधारको विकास, निर्यातमूलक उद्योग तथा रोजगारीको सिर्जना गर्न जे जति काम गर्नुपर्छ त्यसका लागि तयार रहेको स्पष्ट पार्दै प्रधानन्त्रीले नेपाल सधैँ गरिब, अभावमा रहन नसक्ने र रहन नदिने बताउनुभयो ।

आगामी एक वर्षभित्र काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन सरकार लागिपरेको जानकारी दिँदै प्रधानमन्त्रीले ऊर्जा सङ्कट निवारणका लागि समेत योजनावद्धरुपमा काम भइरहेकाले औद्योगिक वातावरण तयार पार्ने र प्रतिस्पर्धीरुपमा उद्योगको विकास गर्न सबै खाले प्रयत्न गरिने छ भन्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नेपाल बनाउने खालको ल्याउने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यस पटकको बजेट, नीति तथा कार्यक्रम कर्मकाण्डी आउदैन । नेपाल बनाउने खालको आउछ । त्यसका के के विषय समावेश गर्नुपर्छ सुझाव दिन म उद्योगी व्यवसायीलाई आग्रह गर्दछु ।”

सरकारको नीति के हो भनेर दुविधा नमान्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो “उद्योगी व्यवसायीको कुरा के हो, सरकारको नीति त्यही हो । म खाली चेक दिन तयार छु । त्यसमा के के लेख्नुपर्छ उद्योगी व्यवसायी आफँै लेख्नुस । व्यवसायीको माग र चाहना के हो, सरकारको पनि त्यही हो । कुनै दुविधा नराखे हुन्छ ।”

सरकार सबै उपाय अबलम्बन गरेर मुलुकलाई आर्थिक विकासको चरणमा अगाडि बढाउन लागिपरेको भन्दै प्रधानमन्त्रीले अब कुनै पनि संशय गर्नुपर्ने अवस्था नरहको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको भूमिकालाई प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “अब लगानीमैत्री भनेर मात्रै भएन, कस्तो लगानीमैत्री हो, त्यसको प्रष्ट अवधारणा ल्याउनुस । सरकार त्यसमा सहजीकरण गर्न तयार छ ।”

उहाँले रु एक खर्बको पुनरुद्धार कोषमार्फत उद्योगी तथा व्यवासायीलाई राहत दिन लागिपरेको भन्दै सातवटै प्रदेशमा सुविधा सम्पन्न औद्योगिक क्षेत्र निर्माण गरिने र उद्योग व्यवसायको प्रवद्र्धन गरिने जानकारी दिनुभयो । आगामी दुई वर्षभित्र मुलुकले ऊर्जा सङ्कटबाट त्राण पाउने, ऊर्जा सङ्कट इतिहासको सम्झनाको रुपमा मात्रै रहने बताउनुभयो ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सरकारले केही दिन पहिले मात्रै सातवटै प्रदेशमा कम्तीमा पनि एक÷एक हजार हेक्टरका सातवटा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेकाले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

वाणिज्य मन्त्री दीपक बोहोराले राजनीतिक आन्दोलन सम्पन्न भएकाले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धि र बेरोजगारीको अन्त्यका लागि केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चेम्बर स्थापनाको इतिहासदेखि वर्तमान समेटिएको वृत्तचित्र र गत वैशाख १२ गतको भूकम्पपछिको उद्धार राहतमा खटिने स्वयम्सेवकलाई सम्मानसमेत गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *