नेपाल बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : January 18, 2017 | 5:31 pm

काठमाडौँ, ५ माघ । नेपाल बैंक लिमिटेडको ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई १०ः२.३७४ अर्थात १०० कित्ता शेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल मार्केट बीच आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गर्नु भएको छ ।

नेपाल बैंक लिमिटेडले प्रति शेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशन पश्चात बैंकको कुल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायिक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *