नेपाल बैंक लिमिटेडको दुई सम्झौता

Post Date : August 10, 2016 | 5:00 pm

काठमाडाैं, २६ साउन । नेपाल बैंक लिमिटेड र नेपालको प्रख्यात रेमिट सेवा युनाइटेड रेमिट बीच भुक्तानी सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र युनाइटेड रेमिटका प्रमुख कार्यकारी अधिकृत सुरज शाक्यले हस्ताक्षर गरेका थिए । सो सम्झौता पछि नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट पठाएको रकम नेपालको ७५ जिल्लामा रहेको करीव १५०० वटा युनाइटेड रेमिटको कुनै पनि सब एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सक्नेछन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नेपालभर १२६ वटा शाखा सञ्चालनमा छन् । विगत १२ वर्षदेखि नेपालमा रेमिट्यान्स सम्बन्धी कार्य गर्दै आएको युनाइटेड रेमिटको सेवा छिटो छरिटो र विश्वासिलो रहेको छ ।

यसैगरी नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच आपसी सहयोग मार्फत दुवै संस्थाको हित अभिवृद्धि गर्ने उद्देश्य अनुरुप प्राधिकरण कर्मचारी कल्याणकारी कोष सञ्चालन को लागि प्राधिकरण सचिवालयका सञ्चित खाताहरु नेपाल बैंक मार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक देवेन्द्र केसीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्राधिकरणका कर्मचारीहरुको सञ्चित कोष खातामा रहेको रकम कोष सचिवालयको सिफारिसमा मात्र कर्मचारीलाई भुक्तानी दिईनेछ । साथै कोषको कुनै कर्मचारीलाई सञ्चित कोषबाट रकम सापटी लिनु पर्ने भएमा कोष सचिवालयको सिफारिसमा बैंकले निजको व्यक्तिगत सञ्चित कोषमा जम्मा भएको रकमको बढीमा ९० प्रतिशत सम्म कोष सापटी सुविधा उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *