नेपाल राष्ट्र बैंकले गाभ्ने, गाभिने (मर्जर) तथा
प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ लागू गर्यो ।

Post Date : September 9, 2016 | 7:44 am

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंक, संचालक समितिको मिति २०७३ भदौ १८ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वजिसन) सम्बन्धी विनियमावली २०७३ स्वीकृत गरी लागू गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली २०६८ (प्रथम संशोधन २०६९) र बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७० लाई संशोधन गरी उक्त विनियमावली लागू गरेको हो ।

नेपाल राष्ट्र बैंकले लागू गरेको नया विनियमावलीमा शेयर आदान प्रदान अनुपात गणना विधिलाई थप वैज्ञानिक बनाएको छ ।

राष्ट्र बैंकले लागू गरेको नया व्यवस्था अनुसार सम्पत्ति, दायित्व तथा कारोवारको किताबी मूल्य, समायोजित रकम सहितको प्रचलित बजार मूल्य खुल्ने विवरण तथा समायोजनका आधारहरू स्पष्ट रूपमा उल्लेख गरेको हुनु पर्नेछ ।

त्यस्तै, सम्पत्तिको मूल्याङ्कन प्रचलित बजार मूल्यमा गर्नु पर्ने तर घरजग्गा, जमीन, सवारी साधन, मेशिनरीको हकमा सम्बन्धित व्यवसायिक विज्ञहरूको मूल्याङ्कन प्रतिवेदनका आधारमा लिनु पर्छ । सम्पत्ति मूल्याङ्कन गर्ने प्रयोजनका लागि ख्याति (Goodwill) लाई भने समावेश गर्न नपाइने गरेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न र गाभिनका लागि पूँजी पर्याप्तता, नेटवर्थ, निक्षेपको वर्गीकरण तथा संरचना, कर्जाको वर्गीकरण तथा गुणस्तर, कर्जा नोक्सानी व्यवस्थाको पर्याप्तता, कानुन तथा नियमको पालना, तरलता विवरण, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, व्यवसायको बजार अंश, शेयर स्वाप अनुपात, शेयरको बजार मूल्य, शाखा सञ्जाल, गाभ्ने गाभिने वा प्राप्ति गर्नेका पाँच आर्थिक वर्षको प्रमुख वित्तीय परिसूचक विश्लेषण गर्नु पर्नेछ ।

गाभ्ने गाभिने संस्थाहको गणना गरिएको समायोजित खुद सम्पत्तिलाई ७५ प्रतिशत, व्यवसायिक मूल्याङ्कनलाई २० प्रतिशत र नेपाल धितोपत्र विनियम बजार लिमिटेड (स्टक एक्सचेञ्ज) बाट प्रकाशित पछिल्लो १८० दिनको औषत कारोवार मूल्यका आधारमा बजार तय हुने रकमलाई ५ प्रतिशत भाराङ्क दिई आधार नेटवर्थ गणना गर्नु पर्ने विनियमावलीमा उल्लेख छ ।

गणना गरिएको आधार नेटवर्थको आधारमा प्रति शेयर आधार नेटवर्थ गणना गर्नु पर्नेछ । यसरी गणना गरिएको प्रति शेयर आधार नेटवर्थमध्ये गाभ्ने र गाभिने जुन संस्थाको बढी छ, सोलाई १ बराबर मानी बाँकी संस्थाहरूको हिसाब गरी शेयर स्वाप अनुपात गणना गर्नु पर्ने व्यवस्थासमेत विनियमावलीले गरेको छ ।

गाभ्ने, गाभिने वा प्राप्तिमा संलग्न संस्थाका कर्मचारीहरूले साविकमा खाइपाई आएको तलब, भत्ता तथा सुविधा नघट्ने गरी पदमिलान गर्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट गाभ्न, गाभिन वा प्राप्तिका लागि सैद्धान्तिक सहमति वा अन्तिम स्वीकृति प्राप्त गरिसकेको अवस्थामा सो प्रक्रियाबाट अलग हुन वा गराउन खोजेको अवस्थामा ति संस्थाहरूलाई कारवाहीको व्यवस्था समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएका संस्थालाई प्राप्ति गर्ने संस्थालाई औचित्यता हेरी छुटको व्यवस्था पनि गरेको छ ।

त्यस्तै गाभ्ने, गाभिने, प्राप्ति कार्यलाई प्रोत्साहन गर्न गाभिएको वा प्राप्तिको कारणले कुनै सम्पत्तिको नोक्सान हुन गएमा सो नोक्सानमा कर छुट, अन्य कर सम्बन्धी छुट तथा नेपाल सरकारबाट हुन सक्ने अन्य छुटका लागि राष्ट्र बैंकले नेपाल सरकारसमक्ष आवश्यक सिफारिस गरिदिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *