नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड अमेरिकी डलर ल्याउने

Post Date : September 4, 2016 | 2:07 pm

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड अमेरिकी डलर ल्याउने भएको छ । बैंकिङ्ग प्रणालीमा नगद डलर अभावका कारण व्यवस्थापनमा समस्या भएपछि सिंगापुरबाट डलर ल्याउने निर्णय राष्ट्र बैंकले गरेको छ ।

नेपालमा आउने पर्यटकले नगद डलरको साटो कार्ड प्रयोग गर्न थालेकोले पनि नगद डलर अभाव हुँदै आएको छ । त्यसमा पनि अलि अलि आउने डलर पनि चिनिया व्यापारीले केही मनिचेञ्जर र पर्यटन व्यवसायी मार्फत अमेरिकी डलर संकलन गरी रसुवा–केरुङ सडक मार्ग हुँदै लैजाने गरेका छन् । यो सबै अवैध रुपमा आएको सुनको भुक्तानी हो ।

विगतमा नेपाल राष्ट्र बैंकले विदेश जाने प्रत्येकलाई २ हजार ५ सय अमेरिकी डलर दिने व्यवस्था रहे पनि डलर अभाव भएकोले ५ सय भन्दा बढी डलर नदिन बैंकहरूलाई निर्देशन दिएको छ । बैंकिङ्ग प्रणालीमा अमेरिकी डलर अभाव भएपछि निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र नबिल बैंकले पनि डलर ल्याउन राष्ट्र बैंकसमक्ष अनुरोध गरेका थिए ।

वाणिज्य बैंकहरूले सिंगापुरबाट अमेरिकी डलर ल्याउँदा एक अमेरिकी डलरमा पचास पैसा आयात खर्च लाग्ने देखिएको छ ।

नेपालीहरूले कार्डभन्दा नगदै बोकेर लाने गरेका छन् । कार्ड लिएर जाँदा त्यहाँ कुनै पनि कारणले पैसा झिक्न नसकेमा बिचल्ली हुने भएकोले नगद नै लिएर जाँदा सुरक्षित हुने विदेशबाट फर्किका व्यक्ति बताउँछन् ।

नेपालका कतिपय बैंकहरूको कार्डमा त्यति सुरक्षा प्रणाली नभएका कारण विदेशी बैंकले त्यस्ता कार्ड स्वीकार नगर्ने गरेको पनि पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *