नेपाल राष्ट्र बैंकले सिभिल बैंकमा आइएलएफसीलाई विलय गर्ने अन्तिम स्वीकृति दियो

Post Date : September 24, 2016 | 2:43 pm

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंक, संचालक समितिको शुक्रबार बसेको बैठकले सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स (आइएलएफसी) लिमिटेडबीच गाभ्ने/गाभिने सहमतिलाई अन्तिम स्वीकृति दिएको छ ।

स्वाप रेसियो अनुसार सिभिल बैंकको १०० कित्ता शेयर बराबर आइएलएफसीको ८३ कित्ता शेयर हुनेछ । आइएलएफसीको २ अर्ब चुक्ता पूँजी स्वाप रेसियो अनुसार घटेर चुक्ता पूँजी १ अर्ब ६६ करोड रुपैया हुनेछ । बाँकी ३४ करोड रुपैया शेयर प्रिमियम कोषमा जम्मा हुने भएको छ ।

सिभिल बैंकमा आइएलएफसी गाभिएपछि ५ अर्ब ८ करोड रुपैया चुक्ता पूँजी हुनेछ । गाभिएपछि बैंकको नाममा कुनै परिवर्तन हुने छैन । सिभिल बैंकको नामबाट नै एकीकृत कारोवार हुनेछ । बैंक संचालक समिति हाल सिभिल बैंकको नै हुनेछ । र, बैंकको उच्च व्यवस्थापन पनि यथावत नै रहनेछ । बैंकको शाखा संख्या भने ५३ पुग्नेछ ।

बैंकले यही असोज मसान्तभित्र एकीकृत कारोवार गर्ने तयारी गरिरहेको जनाएको छ ।

सिभिल बैंकमा अर्को दुई फाइनान्स कम्पनी युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड पनि गाभिने प्रक्रिया अगाडि बढाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ३१ अर्ब ५६ करोड ४० लाख रुपैया निक्षेप संकलन, २५ अर्ब ७० करोड ४० लाख रुपैया कर्जा प्रवाह गरी ३३ करोड १४ लाख रुपैया खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *