नेपाल वायुसेवा निगमलाई दुईथान वाइड बडी जहाज खरिद गर्न अर्थ मन्त्रालय जमानी बस्ने

Post Date : September 12, 2016 | 4:36 pm

काठमाडौं, २७ भदौ । राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमलाई दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक पर्ने २५ अर्ब रुपैयाका लागि अर्थ मन्त्रालय जमानी बस्न तयार भएको छ ।

अर्थ मन्त्रालयले सहमति दिएपछि जहाज खरिद प्रक्रिया मन्त्रीपरिषदमा पुग्नेछ । दुईवटा जहाज किन्नका लागि ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार छन् । ब्याज बारे भने छलफल गरी तय गर्ने निगमले जनाएको छ ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ए ३३०-२०० सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) मा उडान गर्ने निगमले योजना बनाएको छ । यो जहाजले एकतर्फी ९ देखि १० घण्टा ननस्टप उडान गर्न सक्छ ।

निगमले आगामी मंसिरको दोस्रो साताभित्र वाइड बडी जहाज खरिदका लागि ग्लोबल टेण्डर आह्वान गर्ने र फागुनको दोस्रो साताभित्र खरिद सम्झौता गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।

निगमको योजना अनुसार काम समयमा पूरा भयो भने २०७४ असोजमा पहिलो वाइड वडी र त्यसको ६ महिनापछि दोस्रो वाइड बडी जहाज निगमले प्राप्त गर्नेछ ।

नेपाल वायुसेवा निगमका अनुसार नया वाइड बडी जहाज आएपछि खाडी मुलुकका साथै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत र चीनको उडानका लागि प्रयोग गर्ने योजना रहेको छ । नया विमान किन्ने तयारीमा रहेको निगमले पाइलट र फ्लाईट अटेन्डेन्टको भर्ना प्रक्रिया सुरु गरिएको छ ।

दुईथान वाइड बडी जहाजले उडान थालेपछि लगत्तै अर्को दुईथान सानो आकार (न्यारो बडी) ए ३२०-२०० सिरिजका जहाज पनि खरिद गर्ने निगमको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *