नेप्से दोहोरो अङ्क (४०.८२) ले ओरालो

Post Date : November 17, 2016 | 4:16 pm

काठमाडौँ, २ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ । बजार खुल्नासाथ एक हजार ७०० बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको हो ।

कुल १३५ कम्पनीको १६ लाख २० हजार ७८७ कित्ता सेयर रु एक अर्ब ५० करोड ६४ लाख ९५ हजार २७७ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । कारोबार रकम बढेपछि नेप्से परिसूचक ओरालो लागेपछि लगानीकर्तामा निराशा छाएको बताइन्छ । ओरालो लागेको नेप्से परिसूचकमा ठूला कम्पनीको सेयर कारोबार गर्ने ‘मापक सेन्सेटिभ इन्डेक्स’समेत २ दशमलव ४८ बिन्दुले घटेको छ ।

बैंकिङ २ दशमलव ५७, होटल २ दशमलव ४१, विकास बैंक २ दशमलव ३४, जलविद्युत् २ दशमलव ७८, फाइनान्स १ दशमलव ५५, बिमा २ दशमलव ७२ र अन्य समूहको सेयर १ दशमलव ४१ बिन्दुले ओरालो लागेको स्टकले जनाएको छ । बजार खुल्नेबित्तिकै एभरेष्ट बैंकको रु ३५ करोड बराबरको ९४ हजार कित्ता सेयर बिक्री भएको छ भने नेसनल लाइफको पनि झन्डै रु पाँच करोड मूल्य बराबरको १४ हजार कित्ता सेयर किनबेच भएको स्टकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *