नौ सय क्विन्टल जडीबुटी निकासी

Post Date : November 24, 2016 | 3:49 pm

बैतडी, ९ मङ्सिर । जिल्लाबाट आव २०७२/७३ मा ९७९ क्विन्टल जडीबुटी निकासी भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै एक लाख ३४ हजार ५०० किलो निकासी भएको छ ।

यस्तै चुत्रो छ हजार ३०० किलो, तेजपात ३४ हजार ४०० किलो, काउलो १९ हजार ७०० किलो, अमला २० हजार ६०० किलो, पाखनवेद १४ हजार ९०० किलो, सुगन्धवाल एक हजार १५० किलो र बोझो एक सय किलो निकासी भएको जिल्ला सहायक वन अधिकृत अमर बुलनले जानकारी दिनुभयो ।

रिट्ठा प्रशोधन उद्योगको तयारी

नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्ठा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ ।

कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमले गरेको अध्ययनअनुसार जिल्लामा वार्षिक ४४० टन रिट्ठा उत्पादन हुन्छ । उत्पादन भएको रिट्ठालाई प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउनुहुन्छ ।

जिल्लाको गोकुलेश्वर क्षेत्र, पाटन नगरपालिका, च्वाँगढ क्षेत्रलगायतका ठाउँमा रिट्ठा बढी मात्राममा उत्पादन हुन्छ । “रिट्ठाबाट उत्पादन हुने पाउडरको बजार सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो । जिल्लामा गैरकाष्ठ वनपैदावारमा आधारित उद्योग स्थापनाका लागि सबैसँग पहल भइरहेको अधिकृत सापकोटाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *