पत्रकार बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक

Post Date : February 20, 2017 | 1:30 pm

काठमाडौँ, ९ फागुन । पत्रकार गजेन्द्र बुढाथोकीले लेख्नुभएको पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को यहाँ हिजो सार्वजनिक गरिएको छ ।

आर्थिक पत्रकारितामा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका बुढाथोकीको यो दोस्रो पुस्तक हो । पुस्तकको पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत र अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेल लगायतले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो ।

पूर्वअर्थमन्त्री अधिकारीले आर्थिक उदारीकरण भन्दैमा राज्यको लोककल्याणकारी भूमिका समाप्त नहुने टिप्पणी गर्दै आउने दिनमा राज्यको भूमिका अझ बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा महतले आर्थिक क्षेत्रको विस्तार र विकासलाई नै अगाडि बढाउनुपर्ने र सङ्घीयतामा आर्थिक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा विशेष योजनाका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्थविद् प्रा डा प्याकुरेलले विगत ३० वर्षमा भएको नेपालको आर्थिक उन्नति स्वाभाविक थियो या उदारीकरणको परिणाम थियो भन्ने विषयमै प्रश्न रहेको बताउँदै त्यसको उचित निरुपण गर्नुपर्नेमा जोड दिनुभयो ।

आधुनिक नेपालको सङ्क्षिप्त इतिहाससहित समेटिएको सो पुस्तकमा समसामयिक नेपालको विकास अर्थतन्त्रका विभिन्न पाटा र पक्षकाबारेमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थी र अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले पछिल्लो कालखण्डको नेपाली अर्थतन्त्र अध्ययनका लागि पुस्तक सन्दर्भ सामग्री हुने बताउनुभयो ।

साङ््ग्रीला बुक्सद्वारा प्रकाशित सो पुस्तकको मूल्य रु ३५० तोकिएको छ । पत्रकार बुढाथोकी कारोबार दैनिकमा कार्यरत हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *