पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

Post Date : September 23, 2016 | 1:50 pm

लमजुङ (बेसीसहर), ७ असोज । भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । उक्त सुरुङ मार्ग अधिकांश आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।

सम्भवतः नेपालकै पहिलो सुरुङ मार्ग भनिएकाले पनि जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । जम्मा ३४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा आएको पर्यटक बताउँछन् । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै आनन्द लाग्दोरहेछ”, तनहुँबाट सुरुङमार्ग हेर्न आउनुभएका चन्द्र तिमल्सेनाले भन्नुभयो ।

सुरुङ मार्ग हेर्न प्रायः शनिबार र बिदाको दिन आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । बिदाको दिन विद्यार्थी, कर्मचारी र अन्य सर्वसाधारणको विशेष भीड हुने गर्दछ । भुलभुलेमा निर्माण गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले उक्त सुरुङ मार्ग बनाएको थियो ।

उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् । सुरुङमार्ग नजिकै आकर्षक झरना पनि छ । उक्त झरनाले पनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँदै आएको छ । सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयवासीले अपेक्षा गरेका छन् । सोही बाटो भएर सयाँै आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण पैदल यात्रामा पनि जाने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *