पर्यटकीय यामसँगै व्यवसायी उत्साहित

Post Date : September 8, 2016 | 1:45 pm

चितवन, २३ भदौ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरु भएसँगै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् ।

गत वर्ष वैशाखमा आएका भूकम्प र त्यसपछि तराईमा गरिएको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण पर्यटक आगमनमा निकै कमी आएको थियो । स्वदेशी पर्यटकले मात्र व्यवसायी चित्त बुझाउन बाध्य भएका थिए ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा फेब्रुअरी, मार्च र अप्रिल पर्यटक आउने समय हो । सेप्टेम्बर सुरु हुँदै गर्दा दुई महिनाका लागि यहाँका अधिकांश होटल बुकिङ भइसकेका छन् । अहिले विदेशी पर्यटक ट्रेकिङमा गएका कारण सेप्टेम्बर १५ पछि यहाँ पर्यटकको चाप बढ्ने अनुमान व्यवसायीको छ । अन्तर्राष्ट्रिय जगत्मा भूकम्पको खतरा र बन्द हडताल एवम् आन्दोलनका बारेमा फैलाइएको नकारात्मक सन्देशका कारण गत वर्षको पर्यटन प्रभावित बनेको थियो ।

होटल सेभेन स्टार सौराहाका प्रबन्ध निर्देशक माधव दुवाडीका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश पुग्ने गरी प्रचार गरिएको हुँदा बुकिङ सकारात्मक छ । सबैभन्दा बढी पर्यटक आउने चीनमा नेपालका ८० जना पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि सन्देश फैलाउने गरी कार्यक्रम गरेर फर्किएका छन् । दुवाडीका अनुसार थाइल्यान्डबाट समेत पर्यटक नेपाल भित्र्याउनका लागि प्रचारप्रसार गरिएको छ ।

त्यसैगरी सार्क र अन्य राष्ट्रहरुमा सरकारी र निजी क्षेत्रबाट नेपालमा पर्यटक भित्र्याउन सकारात्मक सन्देश प्रवाहको काम भइरहेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे होटलमा अनलाइन बुकिङ र एजेन्सी बुकिङ राम्रो रहेको बताउनुहुन्छ । गत वर्ष मुख्य मौसममा ५० प्रतिशतभन्दा कम बुकिङ भएको थियो ।

यस वर्ष ७० प्रतिशत बुकिङ कट्ने अनुमान व्यवसायीको छ । “सरदर ७० प्रतिशत बुकिङ कट्छ भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो । भूकम्प आउनुअघि सौराहाका होटल ८५ प्रतिशतसम्म बुकिङ भएका थिए । यस वर्षको दोस्रो मौसममा ८० प्रतिशत बुकिङ हुने अपेक्षा घिमिरेको छ ।

विगतका वर्षमा सौराहा आउने पर्यटकमा ३० प्रतिशत स्वदेशी र ७० प्रतिशत विदेशी हुने गर्दथे । पछिल्लो समय स्वदेशी ४० प्रतिशत पुग्ने अनुमान छ । तीस प्रतिशतको हाराहारीमा चिनियाँ, बाँकी भारतीय र सार्कका बाँकी देश तथा तेस्रो देशका पर्यटक आउने अनुमान छ ।

पोखरामा व्यावसायिक सफलता हासिल गरेपछि पश्चिम चितवनको मेघौलीमा पनि खोलिएको होटल बाराहीमा यस वर्ष पनि पर्यटकको बुकिङ राम्रो छ । अफ्रिका जाने पर्यटक के चाहँदा रहेछन् र उनीहरुलाई नेपाल ल्याउन कसरी सकिन्छ भन्ने विषयमा बुझ्न अफ्रिका पुगेर बुधबार मात्रै फर्किनुभएका बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेलले यस वर्ष नेपालमा पर्यटक आगमन उत्साहजनक रहने बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डका कारण पर्यटक चितवन ल्याउन कठिन भए पनि बुकिङ राम्रो छ । “गत वर्षभन्दा २० प्रतिशत बुकिङ बढी छ,” पौडेलले भन्नुभयो । होटल बाराहीमा आउने ७५ प्रतिशत पर्यटक विदेशी हुने गर्छन् ।

पश्चिम चितवनको मेघौलीमा रहेको सराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुबोध प्रधान गत वर्ष पर्यटक आगमनमा कमी आएकाले यस वर्ष पर्यटक भित्र्याउन बजार प्रवद्र्धनको काममा जुटेको बताउनुहुन्छ । भूकम्पसँगै तातोपानी भन्सार बन्द छ । केरुङ पनि त्यति सहज छैन । चीनबाट हवाई यात्राका लागि जहाज कटौती भएका छन् ।

व्यवसायीकै अनुरोधमा उडान कम्पनीहरुले चीनबाट काठमाडौँका लागि उडान सङ्ख्या थप गर्ने आश्वासन दिएका घिमिरेले बताउनुभयो । हवाई र स्थल मार्गको राम्रो सुविधा पाएमा चिनियाँ पर्यटक पूर्ववत् अवस्थामा नेपाल भित्रिने देखिन्छ । काठमाडौँ र पोखरापछि ठूलो सङ्ख्यामा पर्यटकको रोजाइ चितवन हुने गरेको छ । सौराहामा दुई हजार ५०० जना क्षमताका ११० होटल छन् । जगतपुर, मेघौली र गोलाघाटमा करिब ३० वटा पर्यटकीय होटल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रवेशद्वारमा पर्यटकीय होटल खोल्ने क्रम जारी रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *