पर्यटकीय विकासका लागि सार्वजनिक बजेटमा मिश्रित प्रतिक्रिया

Post Date : May 29, 2016 | 5:23 pm

पोखरा, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्य सम्बन्धमा पोखरेली पर्यटन व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि प्रस्तुत गरिएको बजेमा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइनु स्वागतयोग्य भएको र बजेटमा अझ धेरै विषय समेट्न बाँकी रहेको उनीहरुले बताएका छन् ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान प्रवद्र्धन, पर्यटकीय सडक र पदयात्रा मार्गको स्तरोन्नति गरिने विषय बजेटमा उल्लेख गरिनु स्वागतयोग्य भए पनि वस्तुगत रुपमा धेरै विषय नसमेटिएको व्यवसायीको गुनासो छ । नेपालको पर्यटनमा पर्वतीय पर्यटनको विशेष महत्व रहेको बताउने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले बजेटमा पदमार्गको विकासलाई प्राथमिकतामा नपारिएको गुनासो गर्नुभयो ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै उहाँले पर्वतीय पर्यटनलाई राज्यले चासो नदिने हो भने यसले नेपालको समग्र पर्यटकीय विकास प्रभावित हुने बताउनुभयो । “पछिल्ला वर्षमा सवारीसाधन चल्ने सडक मार्गको विकाससँगै पदमार्ग छोटिएका छन्,” उहाँले भन्नुभयो– “अन्नपूर्ण चक्रिय मार्ग विगतमा २१ दिनको पदयात्रा गर्ने मार्ग हो, तर सडक यातायात विस्तारसँगै अहिले त्यो छोटिएर चार दिनको भएको छ, यस्ता धेरै पदमार्ग छोटिदै गएका छन् ।”

पदमार्गमार्फत स्थलगत अवलोकनका साथै पदयात्रा गर्ने पर्यटकका लागि वैकल्पिक पदमार्ग निर्माणलाई बजेटमा प्राथमिकता दिइनुपर्ने भए पनि त्यो हुन नसकेको उहाँको गुनासो छ । पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिनु स्वागतयोग्य भए पनि समग्र रुपमा पर्यटकी विकासका लागि छुट्याइएको बजेट अझै पर्याप्त हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा बताउनुहुन्छ ।

पूर्वाधार विकाससँगै विद्यमान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणलाई बजेटमा प्राथमिकता दिइनुपर्नेमा उहाँको जोड छ । पर्वतीय पर्यटनको विकासका लागि वैकल्पिक पदमार्गको विकास तथा विस्तार राज्यको प्राथमिकतामा पर्नुपर्ने थापाको भनाइ छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ रु पाँच अर्ब बजेट व्यवस्था गर्नुले विमानस्थल निर्माण कार्य अघि बढ्ने कुरालाई सुनिश्चितता गरेको पोखरेली पर्यटन व्यवसायीको धारणा छ ।

पोखराको धार्मिक पर्यटकीय आकर्षणको केन्द्र विन्ध्यवासिनी मन्दिरको विकासको विषयलाई बजेटमा उल्लेख गरिनुले यहाँको विकासका लागि महत्वपूर्ण प्रेरणा मिलेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । “बजेटमा नै विन्ध्यवासिनी मन्दिरको विकासको विषय आउनुले यहाँको भौतिक संरचनाको विकासका साथै आध्यात्मिक वातावरण निर्माण हुने कुरामा थप टेवा मिलेको छ,” उहाँले भन्नुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखराका अध्ययक्ष गणेशबहादुर श्रेष्ठका अनुसार पोखरामा धार्मिक पर्यटनको आकर्षण बन्दै गएको विन्ध्यवासिनी मन्दिरमा पछिल्ला दिनमा दैनिक एक हजार ५०० देखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् । सरकारले पर्वतीय पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउन आरोहीका लागि एकीकृत उद्धार केन्द्र स्थापना गर्ने निर्णय पर्वतीय पर्यटनको विकासका लागि अत्यन्त स्वागतयोग्य कदम भएको ग्रान्ड होलिटेज टुर्स एण्ड ट्राभल्स, पोखराका प्रबन्ध निर्देशक किर्तीबल्लभ त्रिपाठीले बताउनुभयो ।

“सरकारीस्तरबाटै एकीकृत उद्धार केन्द्र स्थापना गर्ने निर्णय गरिनु अत्यन्त स्वागतयोग्य छ,” उहाँले भन्नुभयो, “उक्त केन्द्रमा सम्भावित पूर्व सूचना, मौसमको पूर्वानुमान आदिको जानकारीका लागि दक्ष जनशक्ति राखिनुपर्छ ।” त्रिपाठीका अनुसार उद्धार केन्द्रको स्थापना एवम् प्रभावकारिता भएमा सम्भावित विपत्ति सोचेर पदयात्राका लागि दोमन भएका पर्यटकलाई पदयात्रामा जान हौसला प्रदान गर्नेछ । पर्यटनलगायतका समग्र क्षेत्रमा प्रस्तुत बजेटले सङ्घीयताको मर्म छुन नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताउनुभयो ।

पर्यटकीय विकासलाई लक्षित गरी सरकारले विसं २०७३ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाउने र सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन आवश्यक पूर्व तयारी गरिने उल्लेख गरेको छ । (वासुदेव पौडेल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *