पर्यटक प्रवर्द्धनका लागि ‘चितवन हात्ती महोत्सव’

Post Date : December 16, 2016 | 1:58 pm

चितवन (रत्ननगर), १ पुस । चितवनको सौराहामा पर्यटन प्रवर्द्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ ।

नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उहाँले बताउनुभयो ।

हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर खाना खान्छ सोही हात्तीलाई विजेता बनाइने भएको छ ।

महोत्सवमा यसपालि हात्ती वनभोज, हात्तीका छावाबीच फुटबल प्रतियोगिता, गाडा दौड, डुँगा दौड तथा विभिन्न साङ्गीतिक कार्यक्रम रहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।

यस्तै हात्ती सुन्दरी प्रतियोगिता र हात्ती शृङ्गारका कार्यक्रमसमेत हात्ती महोत्सवका थप आकर्षण रहेका छन् ।

नयाँ वर्ष र क्रिसमसको अवसरमा पर्यटक आफ्नो देश फर्कने गरेकाले उनीहरुलाई चितवनमै राख्न हात्ती महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सवको तयारी तीव्र भइरहेको आयोजक क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।
विसं २०६७ देखि स्थगित भएको हात्तीपोलो प्रतियोगितासमेत यसपालि आयोजना हुने हात्ती महोत्सवअन्तर्गत हात्तीपोलो उपसमितिका संयोजक शङ्कर सैँजुले जानकारी दिनुभयो ।

अहिले पोलो र फुटबलका लागि हात्तीलाई प्रशिक्षण दिने क्रम जारी छ । १२ वर्षअघि सौराहाको पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरु हरिभक्त घिमिरे, गिरीधारी चौधरीलगायतको पहलमा अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना गरिएको कार्यक्रमले अहिले हात्ती महोत्सवको रुप लिएको होे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *