पर्यटक भित्र्याउन होमस्टे तालिम

Post Date : May 31, 2016 | 8:08 pm

मुस्ताङ, १८ जेठ । सदरमुकाम जोमसोम नजिकैको ठिनी गाउँमा सञ्चालित होमस्टे (घरवास) कार्यक्रमलाई सफल बनाउन स्थानीयवासीलाई होमस्टे र कुक तालिम प्रदान गरिएको छ ।

पर्यटकीय जिल्ला मुस्ताङको ठिनी गाउँमा पहिलो पटक चार घरमा एक महिनाअघि होमस्टे सञ्चालन गरिएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुरयाउने उद्देश्यले जिविस र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले होमस्टे र कुक सम्बन्धी तालिम सञ्चालन गरेको हो ।

एक सय घरधुरी रहेको ठिनीमा थप २० घरले पनि केही समयभित्रै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । ती सबैलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा ५० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको जिविसले जनाएको छ । होमस्टेका लागि ठिनीमा आवश्यक पूर्वाधार रहेको अवस्थामा त्यसलाई सही तरिकाले सञ्चालन गर्न सके स्थानीयवासीको आयआर्जनमा ठूलो सहयोग पुग्ने स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले बताउनुभो ।

धार्मिकस्थल, विभिन्न कला संस्कृतिको अध्ययन गर्न र लोमान्थाङ भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्बाउन होमस्टे प्रभावकारी हुने विश्वास लिइएको छ । ठिनीमा थकाली समुदायको कला संस्कृतिको उद्गमस्थल, ठिनी भ्यूटावर र यातायातको सहज पहुँच भएकाले होमस्टे कार्यक्रम सफल हुने सरोकारवालाहरु बताउँछन् ।

स्थानीय मुखिया आशबहादुर थकालीले सदरमुकाम जोमसोमदेखि २० मिनेटको दूरीमा पर्ने ठिनीमा गाउँले संस्कार पाइने बताउनुभयो । “यो तालिमले हामीलाई थप हौसला मिलेको छ, व्यावसायिक रुपमा अघि बढ्न हामी आतुर छौँ” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *