पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी

Post Date : June 4, 2017 | 5:38 pm

काठमाडौँ, २१ जेठ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आव २०७२÷७३ मा पर्यटन क्षेत्रबाट रु ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५ लशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९दशमलव छ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ दशमलव ९ प्रतिशत हो ।

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ३६ अर्ब १९ करोड ९० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ६६ दशमलव ८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३ दशमलव ३ प्रतिशत रहेको छ ।

भारतबाट बढी पर्यटक

सन् २०१६ मा करिब ४० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । उक्त अवधिमा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए । कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् २०१६ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत (१५ दशमलव ७) प्रतिशतले अगाडि छ । अन्य देशहरु क्रमशः चीन (१३ दशमलव ८), श्रीलङ्का (७ दशमलव ६), अमेरिका (७) र बेलायत (६ दशमलव एक) रहेका छन् । यी देशबाट आएका पर्यटकले कुल पर्यटकको ५० प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ ।

सन् २०१५ मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत (१४), चीन (१२), अमेरिका (१०), श्रीलङ्का (८) र थाइल्यान्ड (६) प्रतिशत रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *