पर्यटनलाई प्रविधिसँग जोड्न ई–भिलेज केन्द्र

Post Date : June 26, 2016 | 4:05 pm

पोखरा, १२ असार । सूचना प्रविधि विभागको सहयोग एवम् हाई वन होप सामुदायिक पुस्तकालय, भरतपोखरीको संयोजनमा लेखनाथ नगरपालिका– १८ बर पाण्डेथुममा हाई वन होप ई– भिलेज केन्द्र आजदेखि सञ्चालनमा आएको छ ।

सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण वस्तीमा नविनतम प्रविधिको अधिकतम उपयोग गराउँदै त्यहाँको कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रको विकास एवम् विस्तारलाई थप सहज एवम् सरल बनाउन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रका अध्यक्ष केशवराज लम्सालका अनुसार ग्रामीण भेगका धेरै सम्भावना सूचना प्रविधिको उपयोग हुननसक्दा ओझेलमा परेका कारण तिनीहरूलाई उजागर गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधिका क्षेत्रमा अत्याधिक विकास भइरहे पनि ग्रामीण क्षेत्र अझै त्यसको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ छ ।

केन्द्रको उद्घाटन गर्दै सूचना प्रविधि विभागका निर्देशक रमेश सुवेदीले प्रविधिको उपयोग गर्ने सम्बन्धमा सहर गाउँबीच विद्यमान खाडललाई चिर्नका लागि केन्द्र बहुउपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । केन्द्र स्थापनासँगै ग्रामीण भेगका सर्वसाधारणले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन आदि क्षेत्रमा भइरहेका प्रगति तथा आवश्यक जानकारी सूचना प्रविधिको उपयोगका माध्यमबाट पाउनसक्ने उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *