पर्यटन प्रवर्द्धनका लागि पर्यटन सुन्दरी प्रतियोगिता

Post Date : June 6, 2016 | 6:04 pm

काठमाडौँ, २४ जेठ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ ।

प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त प्रतियोगिताका लागि असार १ गतेदेखि आवेदन खुला गरिने छ । अठार देखि २५ वर्ष उमेर समूहका अविवाहित महिलाले असार ३१ सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

‘मिस टुरिज्म’लाई भव्य, सभ्य र विवादरहित बनाउन सिङ्गो पर्यटन क्षेत्रसँग सहकार्य गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । काठमाडौँ, पोखरा र चितवनका पर्यटकीयस्थलबाट प्रतियोगी छनोट गरिने छ । मिस टुरिज्मलाई रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेन्ड रनर अपलाई रु २० हजार प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटन व्यवसायी हरि धरेल, मोहन लम्साल, राजन सिंखडा लगायतले मिस टुरिज्म नयाँ पर्यटकीय कार्यक्रम भएको र यसलाई व्यवस्थित गरी विश्व बजारमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

ठमले पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा महिला आकर्षणका लागि प्रतियोगिता सान्दर्भिक हुने भन्दै यसलाई सफल पार्न सबैको सहयोग चाहिने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *