पर्यटन बोर्ड र एनआरएनबीच हस्ताक्षर

Post Date : May 18, 2016 | 7:10 am

काठमाडौँ, ४ जेठ । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राईको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र सङ्घका उपाध्यक्ष भवन भट्टबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सझदारीपत्रमा सफा, सुन्दर र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि चिनाउनका लागि सुरुमा बोर्ड र सङ्घले रु २०/२० लाख स्थिर पूँजीका रुपमा राखी एउटा अक्षयकोष खडा गर्ने उल्लेख छ ।

सङ्घको कार्यालय रहेको ७५ भन्दा बढी देशमा नेपाल विश्वमा घुम्नैपर्ने सुन्दर पर्यटकीय देश भएको र नेपाल सफाका साथै राम्रो अतिथि सत्कार भएको विश्वमा चिनाउने अभियानको उद्देश्य रहेको छ ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिक विविधता पर्यटनका लागि आकर्षणको केन्द्र रहेको र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै पर्यटन भएको बताउनुभयो ।

नेपाल १२५ जातजाति १२३ भाषाभाषीको संस्कार रहेको नेपालमा पशुपतिनाथमा ६४ पीठ, बुद्ध परिपथ निर्माण गरी पर्यटन भित्र्याउने कार्यमा गैरआवासीय नेपालीले पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले गरिबी निवारण र आर्थिक विकासको आधार पर्यटन क्षेत्र नै भएको र सरकार कार्बनरहित पर्यटनका साथै घरबास पर्यटनको नेपालमा राम्रो सम्भावना रहेको बताउनुभयो ।

पच्चीससय साठीऔँ बुद्धजयन्ती समारोहको सहआयोजकका रुपमा रहेको सङ्घले नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म, कर्म र बुद्ध दर्शनको उद्गमस्थल रहेको कुरा विश्वभरि नै तथ्यसहित प्रमाणित गर्नका लागि मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव राईले सरकारले २०७३ लाई घुमफिर वर्ष र सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको उल्लेख गर्दै बोर्ड र सङ्घको सम्झौताले प्रचारप्रसार राम्रो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका उपाध्यक्ष भवन भट्टले नेपाल प्राकृतिक र सांस्कृतिक सुन्दरताको सङ्ग्रहालय भएको र विश्व भ्रमणको उत्कृष्ट गन्तव्य नेपाल भएको हुँदा आफूहरु सधैँ पर्यटन प्रवर्द्धनमा लाग्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *