पर्वतमा आगामी दुई वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

Post Date : April 3, 2017 | 1:08 pm

फलेवास (पर्वत), २१ चैत । ऊर्जा नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ ।

जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छन् । पर्वतमा हाल कुल २५दशमलव पाँच मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् । जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिल्लाको परादीमा निर्माण गरिरहेको आयोजना सम्पन्न गरेपछि २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

रु तीन अर्ब ६० करोड लाग्ने अनुमान गरिएको मोदीखोला आयोजनाको अहिले ९० प्रतिशत काम पूरा भइसकेको र चालु आवभित्रै उत्पादन दिने लक्ष्य राखिएको आयोजना प्रमुख पवनकुमार यादवले राससलाई बताउनुभयो । आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इन्टेकलगायतको काम पूरा भइसकेको छ । चार हजार दुई सय मिटर सुरुङ मार्ग खनी निर्माण भइरहेको यो आयोजना जिल्लामा हालसम्मकै ठूलो मानिन्छ । मोदी खोलामै १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

जिल्लाको मोदी गाउँपालिकास्थित भुकदेउराली र देउपुरमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने तल्लो मोदीखोला–२ जलविद्युत् आयोजनाबाट १०दशमलव पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । हाल मोदीखोला जलविद्युत् आयोजनाले १४दशमलव आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ भने तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाले १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । उता पातीखोलामा रहेको पातीखोला जलविद्युत् आयोजनाले एक मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *