पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका निर्यात

Post Date : May 2, 2016 | 2:15 pm

फलेवास (पर्वत), २० वैशाख । पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ ।

जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लैजानुभएको हो ।

लप्सीको ३०० किलो क्यान्डी, ३०० किलो अचार र २० किलो ग्रिनबिन कफी हिमाल गार्मेन्टलाई पठाएको हो । गार्मेन्टका तर्फबाट आएका क्रिगले उद्योगमा करिब एक महिना बसेर त्यसको गुणस्तर परीक्षणपछि उत्कृष्ट ठहर गर्दै आफ्नो कम्पनीका लागि लैजाने सम्झौता गर्नुभएको हो ।

कम्पनीले क्यान्डी प्रतिकिलो रु २५०, अचार रु २८० र ग्रिनबिन कफी रु ८०० किलोमा बिक्री गरेको उद्योग सञ्चालक थानेश्वर भुसालले बताउनुभयो ।

विसं २०५८ मा स्थानीय स्रोतसाधनबाट सुरु भएको उद्योगले वैधानिक प्रक्रिया पूरा गर्दै उत्पादन अमेरिकासम्म पुरयाउन सक्नु ठूलो उपलब्धिका रूपमा लिएको उहाँको भनाइ छ । सुरुका चरणमा वैधानिकता पाउन मात्रै निकै सङ्घर्ष गर्नुपरेको तर निरन्तर लागिपरेपछि अब बल्ल आफ्नो उत्पादनले पनि विदेशको बजार पाउने आस बढाएको उहाँले उल्लेख गर्नु भयो ।

एक जिल्ला एक उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उहाँले बताउनुभयो । उद्योगले दुई वर्षअघि घरेलु तथा साना उद्योग महासङ्घबाट गुणस्तरमा उत्कृष्ट अवार्डसमेत पाएको थियो ।

खरिद सम्झौता गर्न उद्योगमा आएका क्रिगले लप्सीको परिकार अमेरिकाका लागि नयाँ स्वाद हुने बताउनुभयो । अमेरिका पुरयाएपछि प्रतिकिलो ५० डलरमा बिक्री गर्न सकिने उहाँले बताउनुभयो ।

कृषि उद्यमी ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया सुरु गर्नुभएको थियो । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो ।

सुरुमा आफूले लप्सीको सम्भावना देखेर उद्योग खोल्ने कुरा गर्दा जानकारले नै जिस्काउने अनुभव सुनाउँदै उहाँले भन्नुभयो अहिले पर्वत लप्सीमय बन्दै छ । उद्योगको उत्पादन अमेरिकासम्म पुरयाउनुले सफलताको उचाइमा पु¥याएको उहाँको भनाइ छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका करिब तीन दर्जन गाविसमा यसको व्यावसायिक खेती सुरु भएको छ । जिविस र उद्योग वाणिज्य सङ्घले तीन वर्षदेखि थालेको एक जिल्ला एक उत्पादन कार्यक्रमले पनि लप्सीको उत्पादन जिल्लामा बर्सेनि बढ्दै गएको हो ।

यसैबीच पर्वत उद्योग वाणिज्य सङ्घले नेपालमै पहिलोपटक लप्सी प्रशोधनका लागि आधुनिक मेसिनसमेत भित्र्याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *