पशुपालन व्यवसायतर्फ महिला आकर्षित

Post Date : December 22, 2016 | 3:14 pm

रामपुर (पाल्पा), ७ पुस । व्यावसायिक पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएका छन् ।

व्यापार व्यवसाय, उद्योग, कलकारखाना, पसल, पशु तथा कृषि फार्मलगायत क्षेत्रमा पुरुषको वर्चस्व रहेकामा जिल्लाका महिला आर्थिक उपार्जनका निम्ति आफैँ सक्रिय भएर पशु फार्म व्यवसायमा संलग्न हुन थालेका छन् ।

व्यावसायिक पशु फार्म सञ्चालन गरी उनीहरुले मनग्य आम्दानी गर्न थालेका छन् । धेरै ठाउँमा महिलाले व्यवसाय चलाए पनि फार्म दर्ता पुरुषको नाममा हुने गरेकोमा पछिल्लो समय महिला आफ्नै नाममा फार्म दर्ता गरेर व्यवसाय चलाउन थालेका छन् । यहाँका महिलाले पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।

पशुपालनबाट यथेष्ट फाइदा हुने देखेपछि शिक्षण पेसा छाडेर आर्यभन्ज्याङकी सावित्रा न्यौपाने कुखुरापालनमा लाग्नुभएको छ । दश वर्षसम्म शिक्षण पेसामा आबद्ध रहनुभएका न्यौपानेले गत वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्नुभएको हो । “सुरुमा व्यवसायभन्दा ठूलो मानेर जागिर गरे, सामान्य खर्च धान्न पनि गाह्रो परयो,” – उहाँले भन्नुभयो– “जीवनयापन गर्न नसकिने भएपछि कुखुरापालन सुरु गरेकी हुँ ।”

सहकारीबाट रु पाँच लाख ऋण झिकेर पाँच रोपनी जग्गामा कुखुरा फार्म सञ्चालन गर्नुभएको हो । एक हजार कुखुराबाट व्यवसाय सुरु गर्नुभएका न्यौपानेले फार्म निर्माण, चल्ला, दाना खरिदमा रु २० लाख खर्च गर्नुभएको छ । “एक वर्षमा खर्च कटाएर रु दुई लाख आम्दानी भयो,” उहाँले भन्नुभयो । उहाँले तीन हजार कुखुरा पालेर वार्षिक रु पाँच लाख बढी आम्दानी लिने सोच बनाउनुभएको छ ।

यस्तै, रमा घर्ती गाई फार्म सञ्चालन गरेपछि आत्मनिर्भर बन्नुभएको छ । नौ वर्षदेखि व्यवसाय चलाउनुभएका उहाँको फार्ममा अहिले १२ वटा माउ गाई रहेका छन् । रु नौ लाखको लगानीमा व्यवसाय चलाउनुभएका घर्तीले मासिक रु ६० हजार आम्दानी गर्नुहुन्छ ।

पछिल्लो समय चेतना र शिक्षाको विकासका कारण महिला आफैँ सक्रिय भई आफ्नै नाममा व्यवसाय दर्ता गराउन थालेका छन् । रामपुरकी विष्णुदेवी गैरेले रु सात लाखको लगानीमा गाई फार्म चलाउनुभएको छ । सातवटा होलस्टिन र जर्सी जातको गाई पाल्नुभएका उहाँले मासिक रु ४० हजार आम्दानी गर्नुहुन्छ ।

जिल्ला पशुसेवा कार्यालयमा पछिल्लो समय महिलाको नाममा फार्म दर्ता गर्ने कृषकको सङ्ख्या बढेको पाइएको छ । कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाका अनुसार महिलाले गाई र भँैसी फार्म १४, बाख्रा फार्म तीन, कुखुरा फार्म २२ र एउटा बङ्गुर फार्म चलाएका छन् । जिल्लाभरिमा गाई र भैँसी फार्म ८७, बाख्रा फार्म ७७, कुखुरा फार्म १३९ र बङ्गुर फार्म ५३ वटा रहेका छन् । कार्यालयले गाउँ गाउँमा पशु व्यवसाय प्रवर्द्धनका लागि तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवा लक्षित अनुदान रकम उपलब्ध गराउन थालेपछि पुरुषसँगै महिलाको पनि व्यावसायिक पशुपालनमा आकर्षण बढेको रानाको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *