पश्चिम चितवनका वनमा ‘हात्ती सफारी’ सुरु

Post Date : December 14, 2016 | 11:21 am

रत्ननगर (चितवन), २९ मङ्सिर । पश्चिम चितवनको चारवटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ । चितवनको पश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोष्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

मङ्गलबार नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर हात्ती सफारीको सुरुवात भएको घोषणा गरिएको थियो । आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र घुमेपनि पश्चिम क्षेत्रमा पहिलोपटक हात्ती सफारी गरेको हमालले बताउनुभयो ।

हात्ती सफारीका लागि सौराहा जानुपर्ने बाध्यताको अन्त्य गर्दै नवज्योति, बाटुली, दक्षिणकाली र वनदेवी मध्यवर्ती सामुदायिक वनमा सफारी सुरु भएको बरन्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले जानकारी दिनुभयो ।

पश्चिम चितवन पनि पर्यापर्यटन विकासको प्रचुर सम्भावनाको क्षेत्र भएको उहाँको भनाइ छ । चितवनको टिकौली करिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल आसपास क्षेत्रमा हात्ती सफारीले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीयवासीले बताएका छन् ।

यस क्षेत्रभित्र विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल अवस्थित छ भने पर्यापर्यटनको प्रचुर सम्भावना बोकेका मनोरमस्थल रातामाटे ताल, न्युरे ताल, कालीमाटी ताल, बेदघारी ताल, मयुर ताल, बाइस हजार ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, दक्षीणकाली ताल, वाटुलीपोखरी ताल आदि छन् । वेलशर डाँडाबाट राप्ती खोला र पार्कको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

साथै, यस स्थानमा सिमसार क्षेत्र बढी भएको हँुदा पर्यटकले हात्तीमा चढेर निकुञ्ज क्षेत्रभित्र पाइने बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न सक्नेछन् । हात्ती सञ्चालनको अनुमति पाएका चारवटा सामुदायिक वन दुर्लभ एकसिङ्गे गैँडाको राम्रो बासस्थान मानिन्छन् । यहाँ हाल दैनिक दुईवटा हात्तीले बिहान–बेलुका दुई समयमा हात्ती सफारी हुन्छ । तर आठवटा हात्ती सफारीको अनुमति लिइएको छ ।

यसअघि सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *