‘पश्चिम धौलागिरी पदमार्ग’ को पहिचान

Post Date : September 11, 2016 | 5:31 pm

म्याग्दी, २७ भदौ । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न मार्ग पहिचान गरी उक्त पदमार्गलाई ‘पश्चिम धौलागिरी पदमार्ग’ भनेर नामाकरण गरिएको हो ।

धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवतजावत गर्ने गरेको आधारमा थप अनुसन्धान र स्थलगत अवलोकन गरी उक्त पदमार्गको पहिचान गरी नक्साङ्कनको काम अन्तिमचरणमा पुरयाएको गुर्जाका पर्यटन व्यवसायी झकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार पदमार्गलाई उचाइको आधारमा चार चरणमा विभाजन गरिएको छ । माथिल्लो भेगलाई समावेश गरिएको टे«कले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडी भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरि नक्साङ्कन गरिएको छ । सबै पदमार्गको केन्द्रविन्दु भने म्याग्दीको गुर्जालाई बनाइएको छ ।

यस पदमार्गले संसारको सातांै अग्लो धौलागिरीसँगै चुरेन, पुथा, गुर्जा,े दोगारी, सामजङ्ग, सिस्ने र निम्खु हिमाललाई समेटेको छ । धौलागिरी, पुथा र चुरेन हिमाललाई समेटेर नक्साङ्कन गरिएको पद्मार्गलाई ‘ट्रान्स धौलागिरी’ नामाकरण गरिएको छ ।

यो पदमार्गको सुरुवात विन्दु मुस्ताङको लेतेदेखि सुरु भई सेन्चुरी बेस क्याप, कुइनेमङ्गले, मालम्पार, खिवाङ हुँदै गुर्जा र त्यहाँबाट चुरेन र पुथा हिमालको वेसक्याम्प पुगेर फल्याघर हुँदै ढोरपाटन आरक्ष क्षेत्रमा झर्ने गरी नक्साङ्कन गरिएको पदमार्गका पहिचानकर्ता पर्वतारोही खत्रीले बताउनुभयो ।

उहाँका अनुसार माथिल्लो धौलागिरी ट्रेकमा गुर्जा पुगेपछि त्यहाँबाट चुरेन र पुथा हिमालको आधार शिविर हुँदै रुकुमको दोगारी सामजोङ हिमालको आधार शिविर, निम्कु काटेर त्यहाँबाट रुकुमको सिस्ने र डोल्पाको दुने निस्कने गरी नक्साङ्कन गरिएको छ । समय अनुकूल यात्रा छोट्याउँदै रुकुमको मैकोटतिर पनि झर्न सकिने छ ।

त्यसैगरी तल्लो धौलागिरी ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर, रुकुमको वारमीपारमी, दोगाडी खोला, सिस्नेबस्ती हँुदै स्यार्पू तालमा पुगेर यात्रा टङ्ंिगने गरी नक्साङ्कन गरिएको छ ।

चौंथो विकल्पको रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेक अन्तर्गत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरी पदमार्गको चित्रण छ ।

‘‘धेरै वर्ष पहिले गुर्जाका बासिन्दाले नुन लिनको लागि प्रयोग गरेको गुर्जा– डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुबै तर्फका हिमाली भूगोलाई समावेश गरी पश्चिम धौलागिरी पदमार्ग पहिचान गरिएको उल्लेख गर्दै खत्रीले भन्नुभयो–”पदमार्गमा मनोरम हिमशृङ्खला, थरीथरीका जङ्गली फूल, जडीबुटी, चराचुरुङ्गी, हिमाली र जङ्गली जनावर, प्राकृतिक भू– वनोट प्रमुख आकर्षणका छन्, भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृति समेत थप आकर्षण हुनेछ।

यस पदमार्गको पहिचान पश्चात नक्साङ्कनका लागि म्याग्दीको गुर्जा गाविसले रु ३६ हजार र रुकुमको जिल्ला विकास समितिले रु एक लाख ७५ हजार सहयोग गरेका छन् ।

त्यस्तै नेपाल पर्वतारोहण सङ्घले रु तीन लाख लगानी गरेको छ भने बाँकी रकम विभिन्न क्षेत्रबाट जुटाउने तयारी गरेको पदमार्ग पहिचानकर्ता खत्रीको भनाइ छ– ‘‘ मैले विभिन्न क्षेत्रमा पदयात्रा गरेको छु, सगरमाथा सिस्नेलगायत हिमाल आरोहण पनि गरेँ, तर अन्य क्षेत्रको तुलनमा पश्चिम क्षेत्रमा रहेका हिमाल ओझेलमा परेको अनुभुति गरेँ, र पयर्टनको विस्तार गर्दै यस क्षत्रेको गरिबी र बेरोजगारी हटाउन यस क्षेत्रको विकासको पहल गरेको हुँ, ’’

अहिलेसम्म खत्रीको अगुवाइमा १२ वटा पर्यटन तथा पर्वातारोहण मार्ग पहिचान भइसकेका छन्।

दोस्रोचरणमा म्याप हाउसको समन्वयमा तथा म्याग्दी उद्योग बाणिज्य सङ्घको पहलमा स्थलगत भ्रमण गरी प्रचारप्रसार गरिएको थियो । कालीगण्डकीदेखि पश्चिम भेगमा रहेका हिमाललाई एकीकृत रुपमा प्रचारप्रसार गर्ने लक्ष्यसहित एकीकृत रुपमै पदमार्गको पहिचान गरिएको खत्रीको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका साथै उत्तरगङ्गा कोरिडोर बन्नसक्यो भने यस क्षेत्रको पर्यटन विकास अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *