पाँच कम्पनीमा शिलबन्दी

Post Date : February 15, 2018 | 10:35 pm

भक्तपुर, ३ फागुन । मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ ।

नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना र हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारण कक्षमा एकै पटक शिलबन्दी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेर भाडामा दिएको १७५ रोपनी क्षेत्रफलमा सञ्चालित कम्पनीले करोडौँको राजश्व छलेको, कम्पनी दर्ता नगरेको र नगरपालिकासँग स्वीकृति नलिई विभिन्न संरचना निर्माण गरेको जनाइएको छ ।

नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले आइचर कंले नगरपालिकालाई रु चार करोड ३४ लाख कर तिर्नुपर्नेमा नतिरी अटेर गरेको बताउँदै कर तिर्न र नगरपालिकाको नियमभित्र आउन गरिएको पत्राचारको बेवास्ता गरेपछि बाध्य भएर शिलबन्दी गर्नुपरेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कमल ज्ञवालीले ती संस्थाले व्यवसाय दर्ता नगरेको र स्वीकृति नलिई विभिन्न संरचना बनाएको जिकिर गर्नुभयो । नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, प्रशासन प्रमुख धनबहादुर श्रेष्ठ, इञ्जिनीयर सत्यनारायण साह, २ नं वडाध्यक्ष राम थापा, नगरपालिकाका कर्मचारी र प्रहरीसमेतको टोलीले शिलबन्दी गरेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *