पाँच करोडको इँटा नष्ट

Post Date : April 10, 2018 | 4:48 pm

भक्तपुर, २७ चैत । एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।

जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो ।

अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । अहिले उहाँले काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उहाँले बताउनुभयो ।

यसवर्ष गतवर्षभन्दा कम इँटा उत्पादन भएको र तयारी अवस्थामा रहेको इँटासमेत नष्ट भएपछि इँटाको अभाव हुने सम्भावना बढेको ह्याम्बाले बताउनुभयो । भूकम्पपछि पुनःनिर्माणसँगै इँटाको माग अत्यधिक बढेको थियो । मागअनुसार उपलब्ध गराउन नसकिरहेको अवस्थामा असिना पानीले इँटा नष्ट गर्दा थप समस्या भएको उहाँको भनाइ छ ।

असिना पानीका कारण इँटा उत्पादनसमेत रोकिएको उहाँले बताउनुभयो । इँटा पोल्ने कार्य रोकेर आगो लगाउने काम नै बन्द गरिएको छ । भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु भएका कारण इँटा उत्पादन गर्न ढिलाइ हुने भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *