पाँच करोडको लागतमा खानेपानी योजना सम्पन्न

Post Date : June 12, 2016 | 2:05 pm

गाईघाट (उदयपुर), ३० जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ९ देउरी बजार र वडा नं १० को जलजले बजारलाई लक्षित गरेर रु पाँच करोडको लागतमा खानेपानी योजना सम्पन्न भई सञ्चालन भएको छ ।

जिल्लामा नै पहिलो नयाँ प्रविधि बोरिङ तथा पम्पिङ र ओभरहेड प्रणालीबाट खानेपानी वितरण गर्ने प्रणालीको विकास गरिएको जिल्ला खानेपानी कार्यालय उदयपुरका प्राविधिक पन्नालाल भगतले बताउनुभयो ।

विसं २०६५ देखि नै सरकारको लगानीबाट निर्माण सुरु गरिएको उक्त खानेपानी योजना भर्खरै सम्पन्न भएर सञ्चालन गरिएको जलजले खानेपानी उपभोक्ता समितिका अध्यक्ष निर्मल कुमार चौधरीले बताउनुभयो ।

अहिले करिब छ सय घरपरिवारका लागि चार सय १० वटा निजी धारा निर्माण गरेर पानी वितरणकार्य सुरु भएको समितिका अध्यक्ष चौधरी बताउनुहुन्छ ।

यस्तै १० भन्दा बढी धारा विद्यालय, बसपार्क, बजारका मुख्य चोकमा सार्वजनिक धाराका रूपमा स्थापना गरिएको बताइएको छ ।

खानेपानी योजना सम्पन्न भई वितरणकार्य सुरु भएपछि अहिले जलजले बजार, देउरी बजार, देउरीका उत्तरी टोलसहित उदयपुर सिमेन्ट उद्योग जलजले बालुवाटारका कार्यालयसम्म पानीका धारा जडान गरेर पानी वितरणकार्य सुरु भएको छ ।

नयाँ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरेर पानी वितरण हुन थालेपछि अहिले सो क्षेत्रमा अधिकांश स्थानीयवासीले खानेपानी सहज तरिकाले प्राप्त गरेर उपयोग गर्न पाएको स्थानीयवासी देवीरमण थापाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *