पाँच करोड लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु

Post Date : April 3, 2017 | 8:47 am

बाबियाचौर (म्याग्दी), २१ चैत । म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ््गे पुल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रघुगङ्गामा तीन, धौलागिरिमा दुई, अन्नपूर्ण, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालीकामा एक–एक वटा झोलुङ्गे पुल निर्माण हुने समितिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु पाँच करोड ११ लाख ८२ हजार ८०९ लागत अनुमान गरिएको नौ वटा झोलुङ्गे पुलबाट बेगखोला, मुदी, दरवाङ, मुना, बेनी नगरपालिका, कुइनेमङ्गले, नारच्याङ, देवीस्थान र चिमखोलाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

रघुगङ्गा गाउँपालिका–१ बेगमा रु दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा ३६५ मिटर लामो झोलुङ्गे पुल ठेक्कामार्फत निर्माण सुरु भएको छ ।

बेग र बादुक गाउँलाई जोड्ने यो झोलुङ्नै पुल नेपालकै लामो हुने जिल्ला समन्वय समितिको दाबी छ । धौलागिरि गाउँपालिका–४ मुदीको गोरङखोलामा रु ३९ लाख ११ हजार ३२४ को लागतमा ९५ मिटर, मालिका गाउँपालिको दुखु सार्दीखोलामा रु २३ लाख ८७ हजार ३८१ को लागतमा ४२ मिटर र बेनपा–२ ठूलोखोलामा म्याग्दी खोलामाथि रु ३५ लाख ७० हजार ९८४ मा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ ।

पुल निर्माणका लागि टिबीएसयुले स्टील डेग, लठ्ठालगायतका सामग्री सहयोग गरेको छ । गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको छ । उपभोक्ताको दुई र प्रभावित क्षेत्रमा पर्ने साविक गाविस कार्यालयको चार प्रतिशत लगानी हुने जनाएको छ ।

गत आव २०७२/७३ मा म्याग्दीमा करिब रु साढे पाँच करोडको लागतमा १६ वटा झोलुङ्गे पुल निर्माण भएका थिए । जिल्लाभर २०० झोलुङ्गे पुलको हेरालु राखेर नियमित मर्मत सम्भार गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *