पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स

Post Date : September 21, 2016 | 6:23 pm

काठमाडौँ, ५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ–श्रीलङ्का (कोलम्बो) सीधा उडान सुरु गर्ने भएको छ ।

आगामी असोज १५ अर्थात अक्टोवर १ देखि दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भर्ने तयारी भएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले राससलाई जानकारी दिनुभयो ।

व्यापार प्रवद्र्धन मात्र नभई श्रीलङ्काबाट बढी पर्यटन भित्र्याउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।

हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबर कोलम्बोमा उडान भर्नेछ । उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११.३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपरान्ह्र ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ ।

हिमालय एयरको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले यसअघि कतारको दोहामा दैनिक उडान भर्दै आएको थियो । हिमालयका दुई गन्तव्य भएका छन् ।

सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र वर्मामा उडान सुरु गर्नेछ । अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।

हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याई नयाँ गन्तव्यमा उडान भर्ने महाप्रबन्धक केसीले बताउनुभयो ।

कम्पनीले काठमाडौँ–कोलम्बो रुटमा इकोनोमिकमा एकतर्फी भाडा रु २९ हजार १९१ र दुईतर्फी रु ५० हजार ४१ तोकिएको छ, भने विजनेश क्लासको टिकट दर एकतर्फी रु ३९ हजार ३१९ र दुईतर्फी रु ८२ हजार २८१ निर्धारण गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *