पाकिस्तानी हस्तकला व्यापार मेला सुरु

Post Date : September 23, 2016 | 8:11 am

काठमाडौँ, ६ असोज । सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला आजदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप प्रगाढ गराउने विश्वास व्यक्त गर्नुभयो । “मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न तथा नेपालको सामग्री पाकिस्तानमा निर्यात गर्न थप मद्दत पुग्छ,” उहाँले भन्नुभयो ।

सचिव उपाध्यायले पाकिस्तानी सामान नेपाल आयात गर्न तथा नेपाली सामान पाकिस्तान निर्यात गर्न यातायातको ठूलो समस्या रहेको भन्दै सहज भएमात्र सहुलियत दरमा सामग्री पाइने स्पष्ट पार्नुभयो ।

नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशम्शेर जबराले नेपाली बजारमा पाकिस्तानी हस्तकलाले पर्याप्त बजार पाएको बताउनुभयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानी हस्तकलाका सामानलाई नेपाली बजारमा चिनाउन मेलाले सहयोग पुगेको बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष सवीन श्रेष्ठलगायतले नेपालको हस्तकला निर्यातमा पाकिस्तानको ठूलो भूमिका रहेको बताउनुभयो । मेलामा कपडा, छालाका सामग्री, धातुका सामान, काष्ठकलालगायत सामग्री राखिएका छन् । सो मेला असोज १२ गतेसम्म चल्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *