पाल्पामा घरेलु उद्योग बढे

Post Date : March 12, 2017 | 1:58 pm

रामपुर (पाल्पा), २९ फागुन । जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३/७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् ।

उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ दुईवटा उद्योग दर्ता भएको कार्यालय प्रमुख बालकृष्ण गैरेले बताउनुभयो । जिल्लामा यस आवमा साझेदारी र प्राइभेट लिमिटेडतर्फ गरी एक सय ४९ पुरुष र २३ महिलाको नाममा उद्योग दर्ता भएका छन् ।

गत वर्ष उत्पादनमूलक ४३, कृषि तथा वनजन्यमूलक ८६, पर्यटन ६२, सेवामूलक ६७ गरी जम्मा दुई सय ५८ उद्योग थिए ।

वाणिज्यतर्फ यस आवको माघ मसान्तसम्ममा दुई सय ७० वटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा रु १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ । खारेजी भएका २७ वटा उद्योगबाट रु दुई हजार सात सय राजस्व आम्दानी भएको कार्यालयका कर्मचारी दिनेश बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौराननब्बे वटा संशोधन उद्योगबाट रु तीन लाख ७९ हजार सात सय पाँच, तीन सय १० नवीकरण उद्योगबाट रु नौ लाख ९७ हजार एक सय राजस्व आम्दानी भएको छ ।

यस आवको हालसम्ममा वाणिज्यतर्फ २६ लाख नौ हजार तीन सय पाँच र उद्योगबाट रु १७ लाख ५० हजार बराबरको आम्दानी भएको छ ।
रामपुरमा सेवा विकास बैंक स्थापना

जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा सेवा विकास बैंक लिमिटेडले आफ्नो सोह्रौँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक वासुदेव अधिकारीले सो बैंक उद्घाटन गर्नुभयो ।

बैंक उद्घाटनका अवसरमा तीन सय ५० वटा नयाँ खाता खोली एक करोड ३६ लाख निक्षेप सङ्कलन भएको बैंकका महाप्रबन्धक हरिप्रसाद लम्सालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *