पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

Post Date : August 25, 2016 | 6:46 pm

पोखरा, ९ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ ।

गत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन । कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने कच्ची बाटोलाई पक्की बनाउने काम सकिएको छ ।

मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष राखिएको छ । चीनको एक्जिम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण हुन लागेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *