पोखरा विमानस्थलको ऋण स्वीकृत

Post Date : June 6, 2017 | 3:46 pm

काठमाडौँ, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ ।

ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो ।

सो बैंकले अर्थ मन्त्रालयलाई एक पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयका उपसचिव युवराज पाण्डेले राससलाई जानकारी दिनुभयो । विमानस्थल निर्माणको अव सबै प्रक्रिया पूरा भएको छ । मन्त्रालयकाअनुसार रु २१ अर्ब ४७ करोड लागत रहेको सो आयोजनाको यही जेठ १७ गते बुधबार ऋण स्वीकृत भएर आएको हो । त्यसमा ७५ प्रतिशत ऋण हो भने २५ प्रतिशत अनुदान हो ।

उक्त रकम अर्थ मन्त्रालयले चीनको आयातनिर्यात बैंकसँग दुई प्रतिशत ब्याज दरमा लिएको हो । विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अव भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ । विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हालसम्म मुआब्जा वितरणसहित रु पाँच अर्ब भइसकेको छ ।

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले सो विमानस्थल निर्माण गर्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *