प्रधानमन्त्री ओलीले आज बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने

Post Date : March 25, 2016 | 8:55 am

प्रधानमन्त्री ओलीले आज बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं, ११ चैत । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ । बेइजिङबाट हिजै बोआओ पुग्नुभएका प्रधानमन्त्री ओलीले चीनको पहलमा सञ्चालित एसियाली बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको हो । १६ वर्षअघि बोआओ फोरम स्थापना गरिंदा तत्कालिन राजा वीरेन्द्रले सम्बोधन गर्नुभएको थियो । सन् २००५ मा तत्कालिन राजा ज्ञानेन्द्र फोरममा सहभागि हुनुभएको थियो । गत वर्ष राष्ट्रपति डाक्टर रामवरण यादवले फोरमलाई सम्बोधन गर्नुभएको थियो । प्रायः राष्ट्र प्रमुखहरुले सम्बोधन गर्ने उक्त फोरमलाई सम्बोधन गर्ने केपी ओली पहिलो नेपाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ । बोआओ फोरमलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले हाईनानको नान्सान पार्कमा स्थापना गरिएको नेपाली पभेलियन अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आजै हाईनानबाट सियान पुग्ने कार्यक्रम छ । हाल सान्सी प्रान्तको राजधानी रहेको सियान शहर चीनको पुरानो राजधानी एवम् हालका राष्ट्रपति सि जिनपिङको गृहनगर हो । सियानको कार्यक्रम सकाएर प्रधानमन्त्री ओली छेन्दु जानुहुनेछ । छेन्दुका पनि केही औपचारिक कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली साताव्यापी चीन भ्रमण पुरा गरी आगामि आइतबार काठमाडौं फर्कने कार्यक्रम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *