प्रवेशिका परीक्षा सुरुः ‘विद्यार्थीमा भय र त्रास छैन’

Post Date : March 31, 2016 | 5:38 am

काठमाडौँ, १८ चैत । भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै आज बिहानबाट सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन् ।

बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको छ । परीक्षा १२ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुने गरी परीक्षा सुरु भएको हो । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच यस वर्ष विद्यार्थी पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।

परीक्षाका क्रममा झापाको अनुगमनमा पुग्नुभएका शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले देभभर परीक्षा शान्तिपूर्ण रुपमा चलेको जानकारी आएको बताउनुभयो । विश्व निकेतन मावि, त्रिपुरेश्वरका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले त्यहाँ २९६ विद्यार्थी रहेकामा आज २९३ उपस्थित भएको बताउनुभयो । उहाँले विद्यार्थीमा कुनै त्रास र भय नपाइएको बताउनुभयो ।

शिक्षामन्त्री र सहसचिवको अनुगमन

परीक्षाको अनुगमनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि आज केही परीक्षा केन्द्रमा पुग्नुभएको छ । उहाँले शान्ति विद्या गृह, लैनचौर र महेन्द्र मावि, बालुवाटारको परीक्षा केन्द्र पुगी अनुगमन गर्नुभएको हो । त्यहाँ परीक्षा मर्यादित पाइएको मन्त्री पोखरेलका प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिनुभयो ।

यही चैत २९ गतेसम्म चल्ने परीक्षाको अनुगमनका लागि मन्त्री पोखरेल काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा पनि जाने कार्यक्रम छ । कतिपय स्थानमा शिक्षा सचिव विश्वप्रकाश पण्डित पनि अनुगमनमा जानुहुनेछ ।

यस्तै परीक्षा नियन्त्रण कार्यालयले १४ अञ्चलमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको छ ।

त्रुटि सच्याउने मौका

परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्नेछन् ।

पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्ममिति, विषयलगायत त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौंसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरुलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *