प्रहरीद्वारा अवैध इँटा नियन्त्रण अभियान सुरु

Post Date : September 15, 2016 | 8:04 pm

भक्तपुर, ३० भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैधरुपमा बिक्री वितरण गरेको इँटा नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।

उपभोक्ताले रकम भुक्तानी गरेअनुसारको परिमाणमा इँटा नपाइने, कर छलेर इँटा बिक्री गर्ने गरेको गुनासो बढेपछि प्रहरीले अभियान थाल्दै भक्तपुरका विभिन्न ठाउँमा छापा मारेर इँटा बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उपभोक्ताबाट गुनासो व्यापक आएपछि प्रहरीले बुधबारदेखि इँटा गोदाम र इँटा बिक्री गर्ने सवारी साधनहरुमा छापा मारेर अवैध इँटा र बिक्री गर्नेलाई नियत्रण गर्ने अभियान सुरु गरेको बताउनुभयो ।

प्रहरीले अभियान सुरु गरेकै दिन भक्तपुरका बिभिन्न ठाउँबाट १० हजार अवैध इँटा, दुईवटा गाडी र इँटा खरिद तथा बिक्रीमा संलग्न छ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हासिंहस्थित टाउन प्लानिङमा गोदाम गरेर राखिएको अवैध इँटा नियन्त्रणमा लिएको छ । गोदाम गरिएको इँटा त्यहीबाट बिक्री गर्ने, कर छली गरेको, इँटा बिक्री डिपो दर्ता नभएको, विभिन्न ब्राण्डका इँटा राखेर बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले पाँच हजार इँटासहित भक्तपुर नगरपालिका–१ सूर्यमढीका ४२ वर्षीय राजेश काशीछवालाई पक्राउ गरेको छ ।

इँँटा किनबेचमा संलग्न रहेका रामेछाप खनियापानीका छत्रबहादुर मानन्धर, अवैध इँटा बोक्ने बा. २ ख. ९८९४ नम्बरको ट्रक, काभ्रे पाँचखालका ट्रक चालक दीपक तिवारी, बा. १ ख. ९२०८ नम्बरको ट्रक र ट्रक चालक मध्यपुरथिमीका राकेश प्रजापतिलाईं प्रकाउ गरेको छ ।

त्यस्तै भक्तपुर नगरपालिका ब्यासीबाट बिभिन्न ब्राण्डका इँटा गोदाम गरेर राखेको अवैध पाँच हजार इँटा, खरिद गर्ने भक्तपुर नगरपालिका–१२ का बिकी किलम्बु, इँटा बोक्ने बा. ३ ख. ४९५८ नम्बरको ट्रक र चालक रामेछाप हिलेदेवीका डम्बर श्रेष्ठलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *