प्लास्टिक झोलाबाट तीन लाख राजस्व

Post Date : July 6, 2016 | 4:58 pm

काठमाडौँ, २२ असार । मापदण्ड विपरीत प्लास्टिक झोला उत्पादन गर्ने उद्योग र प्रयोग गर्ने पसललाई गरिएको जरिवानाबाट रु तीन लाख २० हजार राजस्व सङ्कलन गरिएको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागले २०७२ वैशाख १ गतेदेखि हालसम्म गरेको अनुगमनका क्रममा १७ वटा उद्योग तथा पसललाई कारबाही गरेको हो । विभागले हालसम्म ३८ क्विन्टल मापदण्ड विपरीतका प्लास्टिक झोला जफत गरेको छ ।

व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिको २०७१ साल भदौ ९ गतेको वैठकले २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न निर्देशन दिएको थियो । सिंहदरबारभित्र २०७१ भदौदेखि तथा काठमाडौँ उपत्यकामा तोकिएको मापदण्ड विपरीतका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाइएको र काठमाडौँ उपत्यका बाहिर समेत ३० माइक्रोनभन्दा कम मोटाइका झोला प्रतिबन्धित गरिएको छ ।

वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले वैशाख १ गतेदेखि हालसम्मको अवस्थालाई हेर्दा प्लास्टिकको प्रयोग अत्यन्त कम हुँदै गएको बताउनुभयो । विभागले काठमाडौँ उपत्यकालाई पूर्ण रूपमा प्लास्टिक झोला मुक्त गर्न माइकिङ गर्नुका साथै अन्य प्रचारप्रसारका कार्यक्रम समेत गर्दै आएको छ ।

मानवीय स्वास्थ्य, समुदाय, सहरी सौन्दर्य र वातावरणमा दीर्घकालीन रूपमा पर्ने असरलाई न्यूनीकरण गर्न प्लास्टिक झोलाको प्रयोगमा कडाइ गरिएको विभागले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *