फष्टाउँदै उदयदेव सहकारी

Post Date : April 21, 2016 | 3:07 pm

भीमदत्तनगर, ९ वैशाख । भीमदत्तनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पछिल्लो समय फष्टाउँदै गएको छ ।

डेढ दशकअघि २५ जना सेयर सदस्यको रु १० लाखबाट सहकारी यात्रा तय गरेको उदयदेव सहकारीको हाल चुक्ता सेयर पुँजी रु तीन करोड, कर्जा लगानी रु ४२ करोड तथा बचत रु २३ करोड रहेको जनाएको छ ।

भीमदत्तनगरका साथै झलारी, दोधारा–चादँनी, बेलौरी, कृष्णपुर र दैजी सो सहकारीले सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने सहकारीमा करिब १७ हजार सेयर सदस्य रहेका छन् । लघुवित्त कार्यक्रमअन्र्तगत कञ्चनपुरका ग्रामीणबस्तीसम्म आफ्नो पहुँच पु¥याएको उक्त सहकारीमा १४ हजार महिला सदस्य रहेका सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले जानकारी दिनुभयो ।

“पुनर्वास र बेल्डाँडीमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो – “गैरसेयर सदस्यलाई धितो लिएर रु १० लाखसम्म ऋण उपलब्ध गराउँदै आएका छौँ ।” सहकारीले लघुवित्त कार्यक्रमअन्तर्गत स्थानीयले कृषि, पशुपालन, बङ्गुरपालन, खुद्रा व्यापारमा लगानी बढाउँदै लगेको छ ।

सहकारीले आफ्ना सेयर सदस्यलाई बिना धितो ऋण उपलब्ध गराउनुका साथै तिनका अध्ययनमा उत्कृष्ट २४ सन्तानलाई बर्सेनि छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । “हामी बचत सङ्कलन र ऋण लगानीमा मात्रै सीमित छैनौँ,” –प्रबन्ध सञ्चालक चन्दले भन्नुभयो, “सामाजिक कार्यमा समेत संलग्न छौँ ।” बाल अनाथालय, वद्धाश्रम र अन्य निकायलाई सहयोग गर्दै आएको सो सहकारीले अहिलेसम्म जिल्लाका ४३८ मुक्तकमैया परिवारलाई शौचालय निर्माण गर्नुका साथै २०० थान ‘हेण्डपम्प’समेत जडान गरिदिएको छ ।

उक्त सहकारी राज्यलाई राजस्व बुझाउने वित्तीय संस्थामा पनि अग्रस्थानमा छ । वित्तीयतर्फ सबैभन्दा बढी राजस्व बुझाएको भन्दै गत वर्ष आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको उक्त सहकारी सञ्चालन समितिको अध्यक्ष पूर्णबहादुर चन्दले बताउनुभयो । सहकारीले बर्सेनि रु २० लाखदेखि रु २५ लाखसम्म राजस्व तिर्दैआएको छ ।

“तीन जना कर्मचारीबाट सहकारी सुरु गरेका हौँ,” अध्यक्ष चन्दले भन्नुभयो– “आज ४० जनाले रोजगार पाएका छन ।’ हाल कञ्चनपुरमा ४०० बढी सहकारी छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *