फस्टाउँदै जैविक चियाखेती

Post Date : August 16, 2016 | 5:30 pm

बेसीशहर (लमजुङ), ३२ साउन । जिल्लामा जैविक चियाखेती फस्टाउँदै गएको छ ।

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा सोही संस्थाको कार्यक्षेत्रभित्र पर्ने क्षेत्रमा २०५५ सालदेखि चियाखेती सुरुवात गरिएको थियो ।

आयोजनाको इलाका कार्यालय भुजुङले सोही स्थानबाट चियाखेती सुरु गरिएकोमा हाल सो क्षेत्रभित्र पर्ने आठ गाविसमध्ये छ गाविसमा चियाखेती विकास गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । हाल भुजुङ, उत्तरकन्या, घनपोखरा, पसगाउ, भोजेलगायतका गाविसमा चियाखेती गरिएको छ ।

हाल नमुनाको रुपमा उत्तरकन्या गाविसको घलेगाउँमा ५०० रोपनी र भुजुङमा चारसय ५० रोपनी क्षेत्रमा चियाखेती गरिएको छ । सामुदायिक रुपमा गरिएको चियाखेतीबाट उत्पादन पनि सुरु भएको छ । करिब एक हजार ७०० मिटरको उचाइमा लगाइएको चियाखेतीले पछिल्लो समय सबैको मन लोभ्याएको छ । चियाखेती हेर्नकै लागि दार्जलिङ, इलाम र झापा लगायतका ठाउँमा अब जान नपर्ने भएको छ ।

चियाखेती राम्रोसँग फष्टाएपछि घलेगाउँ र भुजुङमा थप जग्गामा चियाखेती विस्तार गरिएको छ । त्यहाँ तक्दा– ७८ र घुम्ती प्रजातिका चिया लगाइएको छ । उत्पादन भएको चिया सदरमुकाम बेसीसहर, पोखरा, चितवन, काठमाडाँैदेखि साउदी अरब, कतार, हङकङ र बेलायतसम्म पुगेको छ ।

चिया प्रशोधनका लागि गाउँलेले ढिकिको प्रयोग गर्ने गरेका छन् । भुजुङसँगै घलेगाउँ, घनपोखरा, सिम्पानी, भोजेलगायतका ठाउँमा पनि चियाखेती फस्टाउँदै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *