फेवा विकास बैंक र गण्डकी विकास बैंक गाभिने सम्झौतामा हस्ताक्षर

Post Date : September 12, 2016 | 4:44 pm

काठमाडौं, २७ भदौ । फेवा विकास बैंक र गण्डकी विकास बैंक एक आपसमा गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर पत्रमा फेवा विकास बैंकका अध्यक्ष विन्दु कुमार थापा र गण्डकी विकास बैंकका अध्यक्ष पदम प्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र राष्ट्रिय स्तरको विकास बैंकले २ अर्ब ५० करोड रुपैया चुक्ता पूँजी पुरयाउने नीति ल्याएकोले पूँजी वृद्धिका उद्देश्य सहित यी दुई बैंक एक आपसमा गाभिन लागेका हुन् ।

मर्जरपछि बैंक अध्यक्षमा फेवा विकास बैंकका तर्फबाट जगन बहादुर गुरुड र प्रमुख कार्यकारी अधिकृतमा फेवा विकास बैंककै रेशम बहादुर थापा रहने छन् । गाभिएपछि बैंकको नाम गण्डकी विकास बैंक रहने छ ।

गत वर्ष अर्थात २०७२ असार २८ गते विश्व विकास र्बैक र फेवा फाइनान्स लिमिटेड मर्ज भई राष्ट्रिय स्तरको विकास बैंकको फेवा विकास बैंकको नामबाट कारोवार सुरु गरेको थियो ।

राष्ट्रिय स्तरको फेवा विकास बैंकको चुक्ता पूँजी ९९ करोड ५० लाख रुपैया छ भने १० जिल्ला कार्य क्षेत्र रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी ५३ करोड ८४ लाख रुपैया रहेको छ ।

गाभिएपछि बन्ने गण्डकी विकास बैंकको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैया पुग्ने छ । त्यस्तै निक्षेप संकलन १७ अर्ब २७ करोड रुपैया र कर्जा प्रवाह १४ अर्ब ८५ करोड रुपैया पुग्ने छ ।

गाभिएपश्चात बैंकको केन्द्रीय कार्यालय सहित ५० शाखा कार्यालय, २१ वटा एटिएम र २ लाख ग्राहक संख्या पुग्ने बैंकले जनाएको छ ।

दुई वित्तीय संस्था गाभिए पनि नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि नीतिले चुक्ता पूँजी नपुग्ने भएकोले त्यसका लागि थप मेहनत गर्नु पर्ने छ भने हकप्रद शेयर जारी गर्ने बैंकद्वारा जारी संयुक्त विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *